गौतमबुद्ध मिडिया प्रा.लि.को साधारणसभा सम्पन्न

प्रकाशित मिति:

भैरहवा – गौतमबुद्ध मिडिया प्रा.लि.को चौथो वार्षिक साधारणसभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मिडिया प्रा.लि. का अध्यक्ष खिम बहादुर खत्रीले गौतमबुद्ध सन्देश पत्रिकालाई पठनीय र पत्रिकाप्रति अपनत्व जगाउन तथा यस क्षेत्रका सामाजिक तथा शैक्षिक गतिविधि उजागरण गर्न प्रा.लि.ले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले २०७३ फागुन २८ गतेदेखि मिडिया प्रा.लि.ले दैनिक रुपमा भैरहवाबाट गौतमबुद्ध सन्देश दैनिक पत्रिका प्रकाशन गर्दै आएको बताए । खत्रीले कम्पनीको उद्धेश्य अनुरुप एफ.एम.रेडियो सञ्चालन गर्ने सन्दर्भमा कम्पनीको विशेष भेलाबाट बुटवलमा सञ्चालित रेडियो रिपब्लिक ८८.२ मेगाहर्जलाई लिजमा लिइ सञ्चालनको सुरुवात गरिएको बताए ।

मिडिया प्रा.लि.का सञ्चालक चोपलाल आचार्यले विगतमा विभिन्न मिडियाहरु सञ्चालनमा आए पनि निरन्तरता नपाएको अवस्थामा भैरहवाबाट प्रकाशित एक मात्र दैनिक पत्रिकाले निरन्तरता पाउनु आफैमा महत्वपूर्ण विषय भएको बताए । उनले मिडिया प्रा.लि.ले रेडियोको सञ्चालन पनि सुरुवात गरिसकेको बताए ।

मिडिया प्रा.लि.का सञ्चालक ज्ञानु पौड्यालले सबैको सहयोगले भैरहवाबाट प्रकाशित एक मात्र दैनिक पत्रिका यहाँसम्म आएको बताइन् । उनले मिडियालाई समयसापेक्ष ढंगबाट अगाडी बढाउनुपर्नेमा जोड दिइन् । गौतमबुद्ध मिडिया प्रा.लि.का सञ्चालक तथा पत्रिकाका प्रबन्ध निर्देशक माधब न्यौपानेको सञ्चालनमा कार्यक्रममा सञ्चालक नारायण प्रसाद भण्डारी, शेयरधनी फैज अहमद खान, कमला थापा, धिरज कुमार मल्लिक, अनिल कुमार ज्ञवाली, केशवराज ज्ञवाली, सुरेन्द्र बस्याल, डा.ऋषिराम शर्मा, मृगेन्द्र गोविन्द श्रेष्ठ लगायतले बोलेका थिए । मिडिया प्रा.लि.मा हाल ३१ जना शेयरधनी रहेको गौतमबुद्ध सन्देश दैनिकका सह–सम्पादक तथा शेयरधनी रबिन्द्र प्रताप गुप्ताले जानकारी दिए ।