आफ्नै विमानमा प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

प्रकाशित मिति:

काठमाडौं –  प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट आइतबार बंगलादेशतर्फ प्रस्थान गरेका छन् ।
सात सदस्यीय भ्रमण दलसहित बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा थापा त्यसतर्फ प्रस्थान गरेका सैनिक मुख्यालयले बताएको छ । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति थियो ।
यसअघि प्रधानसेनापति थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणका क्रममा उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गरिएको नेपाली सेनाले बताएको छ । भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।
प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।