बुटवल,१६ असोज ।
संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीले भारतीय भुतपूर्व सैनिकहरुलाई भारतीय नागरीक जस्तै गरी प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।
यस क्षेत्रका केही राजनीतिक दलहरु र बुद्धिजिवीहरुले बुटवलको पुलबारीमा कुनै पनि हालतमा स्थायी पेन्सन क्याम्प बनाउन दिन नहुने भनि गरेको बिरोध प्रति आपत्ति जनाउदै संस्थाले पेन्सन क्याम्प बनाउने काम अवरुद्ध भए आफुहरु चुप लागेर नबस्ने चेतावनि दिएको छ ।
संस्थाले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त चेतावनी दिएको हो ।
बुटवल स्थित अस्थायी भारतीय भुतपूर्व सैनिक पेन्सन क्याम्पलाई स्थायी पेन्सन क्याम्पको रुपमा विकास गर्ने योजना अगाडी बढिरहेको अवस्थामा केहि राजनीतिक दल र केहि संघ संस्थाले पेन्सन क्याम्पको बिरोध गरेको र भारतीय भुतपूर्व सैनिकहरुलाई भारतीय नागरीक भए जस्तै गरी प्रचार गरिएको भन्दै संस्थाले आपत्ति जनाएको छ ।
पत्रकार सम्मेलनमा संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीका अध्यक्ष क्याप्टेन किशन बहादुर थापा ले लामो समयको अथक प्रयास पछि २०५० साल देखि अस्थायी पेन्सन क्याम्प रहेको ठाउमा एक बिघाहा जग्गा थप गरी स्थायी पेन्सन क्याम्प बनाउने भनि मन्त्रीपरिषद्को २०७३÷११÷१७ गतेको निर्णय अनुसार मिति २०७४÷५÷१९ गते तत्कालीन भारतीय राजदुत मन्जिवसिंह पुरीद्धारा शिलान्यास समेत भएर निर्माण सम्बन्धि प्रकृया अगाडि बढिसकेको अवस्थामा केहि राजनीतिक दल र केहि संघ संस्थाले पेन्सन क्याम्पको बिरोध गरेपछि बुटवल उपमहानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा सम्मानित बुद्धिजिवी दिल सहानीले भुपुहरुको मर्म नबुझि दिइएको अभिब्यक्ति प्रति आपत्ति जनाए ।
भारतीय भुपु सैनिक भन्नाले भातीय नागरीकनै भए जस्तै प्रचार गरिएको भन्दै उनले आफ्नै देशका भुपु सैनिकहरुलाई नेपालमै पेन्सन थाप्ने सुबिधा दिन्छु भन्दा बिरोध गरेर आफ्नै देशका नागरीकहरुलाई कहाँ लखेट्न खोजिएको हो ? भनि प्रश्न गरे ।
संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीका अध्यक्ष क्याप्टेन किशन बहादुर थापा,सचिव सुमे.पुरन शाही सहित संस्थामा आवद्ध भुतपुर्व सैनिक संघ संस्थाका १५ वटा इकाई अध्यक्षहरुद्धारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा काठमाण्डौ,पोखरा र धरानमा पेन्सन क्याम्प खोल्दा त्यहाँका राष्ट्रवादी,देशभक्त जनसमुदायहरुलाई केहि आपत्ति नहुने,राष्ट्रको सूरक्षमा पनि केहि असर नपर्ने तर बुटवलमा पेन्सन क्याम्प खोल्दा नेपालकै अस्थित्व मेटिने जस्तो गरी यहाँका राष्ट्रवादीहरुद्धारा अभिव्यक्तिहरु आइरहेको भन्दै योजना अवरुद्ध भए सम्पूर्ण भुपुहरु बाध्य भएर सडकमा उत्रिने चेतावनि दिएका छन् ।












