पशुपतिनाथमा  संगीत सन्ध्या शुरु

प्रकाशित मिति:

काठमाडौं/ पशुपति क्षेत्र विकास कोषले नाद संगीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा संगीत सन्ध्या आयोजना गर्न थालेको छ ।माघे सङ्क्रान्तिदेखि प्रत्येक महिनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न संगीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

संगीत सन्ध्यामा भजन, भक्तिसंगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।संगीतसन्ध्या नाद संगीत पाठशाला परिसरमा आयोजना गरिने जनाइएको छ । संगीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति यहाँ पर्यटकलाई जानकारी गराउने कोषको लक्ष्य छ ।यसैबीच, कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वीकृति बेगर राखिएका फूललगायतका पसल हटाउने भएको छ । कोषले आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाशडाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल सात दिनभित्र हटाउन आह्वान गरेको हो ।सात दिनभित्र नहटाए कानून बमोजिम कोषले नै हटाउन शुरु गर्ने सूचनामा उल्लेख छ । स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको जनाइएको छ ।पञ्चदेव पछाडिका २६ पसलमात्र कोषको स्वीकृतिमा सञ्चालनमा छ । पशुपति क्षेत्रमा करीब २०० पसल टहरा बनाएर सञ्चालन गरिएकोले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असहज हुने गरेको छ ।