​परिवारसहित त्रिशूलीमा हाम फालेका विनयविरुद्ध लाग्ने भयो कर्तव्य ज्यान मुद्दा

प्रकाशित मिति:

काठमाडौ –  मिटरब्याजको चपेटाबाट मुक्ति पाउन परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध हत्याको मुद्दा लाग्ने भएको छ। धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनीसँगै हामफालेका उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको हो। काठमाडौंको चन्द्रागिरी नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए।

धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन्।विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेको थियो। ‘श्रीमती परिपक्व उमेरकी भएकाले उनका हकमा विनयविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने देखिए पनि दुई नाबालक छोराको त उनले सिधै हत्या गरेको देखिन्छ,’ उक प्रहरी अधिकृतले भने । यसैकारण प्रहरीले विनय लामिछानेविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो । गत बिहीबार साँझ त्रिशूलीमा बगाइएका दुई बालक अझै नभेटिएको प्रहरीले जनाएको छ। ‘गोताखोर टोलीद्वारा खोजी गरिरहेको भएपनि फेला नपरेको प्रहरीको भनाई छ । त्रिशूलीको पानी अझै धमिलै रहेकाले खोजीमा समस्या भइरहेको हो ।