बुटवल – मानिसको सपना तथा चाहनाको कुनै निश्चित दायरा हुँदैन । एउटा सपना पूरा हुनासाथ अर्को सपना देख्न थालिहाल्छ मानिस । अत्यन्तै सन्तोषी मानिस पनि यसको भूमरीबाट बच्न सक्दैनन् ।
आध्यात्मिक मानिसहरु यसलाई माया मोहको जाल भन्छन् ।मानिस नांगो रुपमा यस संसारमा प्रवेश गर्छ अनि नांगै यस संसारबाट बिदा हुन्छन् अर्थात् मानिसले यस संसारबाट केही पनि लिएर जाँदैनन् ।
मानिस यस्तो भ्रममा फस्छन् कि उसलाई मृत्यु सत्य हो भन्ने कुरा समेत थाहा हुँदैन । मानिसको जीवन त अनेक चाहना अनि सपनाहरुको चपेटामा फसिररहको हुन्छ । यसकारण मानिसले असन्तोषपूर्वक नै आफ्नो अमूल्य जीवनलीला समाप्त पार्छन् भन्दा सायद कुनै अत्युक्ति नहोला ।यस संसारमा भएका सबै वस्तुहरु नश्वर छन् ।
निश्चित समय पुगेपछि तिनीहरुको नाश हुन्छ । भिन्नता के मात्र छ भने हरेक वस्तुको यस जगतबाट बिदा हुने आ– आफ्नै समय छ ।यसकारण मानिसको वपनि आफ्नो एक निश्चित समय छ । यसबाट बच्न खोज्नु उसको मुर्खता मात्र हो ।
मानिसले प्रकृतिको यो नियमलाई पालना गर्नैपर्छ । यदि कोही पनि मानिस माया मोह तथा संसारको नश्वरताबाट बिचलित हुन्छन् भने त्यो उसको आफ्नैप्रतिको विश्वासघात हो ।यसकारण आफ्नो चाहना तथा सपना पूरा गर्नु मानिसको कर्तब्य हो । यही नै मानव जीवनको सार्थकता हो ।












