इटली – इटलीको एक शहरले जम्मा १२६ रुपैयाँमा घर बेच्न थालेको छ । इटलीका गाउँहरूले त्यति नै रुपैयाँमा घर बेच्ने योजना ल्याएपछि अब शहरले पनि यसो गर्न थालेको हो ।मानिसहरू शहरमा आएर सेटल हुन् भनेर तारान्तोले सस्तो मूल्यमा घर बेच्न थालेको हो ।
दक्षिणी इटलीको दुर्गम बन्दरगाह शहर तारान्तोको जनसंख्या विगत केही वर्षयता घटिरहेको छ र स्थानीय अधिकारीहरूले उक्त क्षेत्रलाई जीवन्त बनाउने आशा गरेका छन् ।
नगर परिषद्ले शहरमा सस्तो दरमा घर बेचेर २५ हजार स्थायी निवासी भित्र्याउने लक्ष्य लिएको छ । उन्नाईसौं शताब्दीमा यो ऐतिहासिक प्राचीन शहरको जनसंख्या ४० हजार थियो तर अहिले त्यो घटेर तीन हजारमा झरेको छ । स्थानीय अधिकारीहरूले बनाएको योजनाअनुसार शुरूमा पाँचवटा घर एक युरो अर्थात् १२६ रुपैयाँमा बेचिँदैछ ।
पहिलो लटका घरहरू बिकेमा थप घरहरू बेच्ने योजना छ । एक युरोमा घर बेच्ने योजनाको शुरूआत सिसिलीको गांगी शहरमा सन् २०११ मा गरिएको थियो । त्यसयता १५० भन्दा बढी भवनहरू पुनर्निर्माण गरिसकिएका छन् र नयाँ मानिसहरू आएर शहरलाई जीवन्त बनाएका छन् ।












