नेविसंघका नवराज आमरण अनशनमा

प्रकाशित मिति:

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व केन्द्रिय सदस्य नवराज त्रिपाठीले माउ पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा सानेपामा आमरण अनशन शुरु गरेका छन्। सोमबारबाट आमरण अनसन थालेका त्रिपाठीले आफ्नो माग सम्बोधन नगरे पार्टीको झण्डा ओढाउन आउनुपर्ने चेतावनी नेतृत्वलाई दिए। आमरणमा बसेका त्रिपाठीले भने, ‘४१ दिनसम्म रिले अनशनमा बसे पनि पार्टीका शीर्ष नेताहरु भागबण्डामामात्रै केन्द्रित हुनुभयो। हाम्रा माग सम्बोधन नभएपछि आमरण अनसनमा बसेको हौं। कि त माग पुरा होस्। नभए झन्डा ओढाउन आउनुस्।’

पार्टीले यसअघि नै नेविसंघको विधान संशोधन गरी ३२ वर्षमुनिका मात्र नेतृत्वमा आउन पाउने व्यवस्था गरिएपनि अहिले विधान मिचेको उनको आरोप छ। नेविसंघको कुन्दन काफ्ले समूहले विधान लागू गर्न माग राख्दै ४१ दिनदेखि रिले अनसन गरिरहेको थियो। उनले भने, ‘विधानमा नै एक जना सेलेक्टेड र एक जना इलेक्टेड हुने भन्ने छ तर अहिले ८\८ जना महामन्त्री राखेर तदर्थ समिति बनाउने, यस्तो भद्रगोलले त कसरी चल्छ संगठन?’ पार्टीले आफ्ना माग सम्बोधन नगरेसम्म आफुले अनसन नतोड्ने त्रिपाठीको अडान छ।

सोमवार नै केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपा पुगेका सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेपछि संस्थापन पक्षसँग झडपसमेत भएको थियो। अहिले नेविसंघ तदर्थ समितिमा पचास वर्षमाथिका राजिव ढुंगानालाइ सभापति बनाउन लागेको भन्दै काफ्ले समुहले विरोध गरिरहेको विद्यार्थी नेता दिपक न्यौपानेले सबलपोस्टलाई जानकारी दिए ।

थप समाचार