‘नाईं नभन्नू ल ६’ मा अनुभव र सेड्रिनाको जोडी एकसाथ् 

प्रकाशित मिति:

काठमाडौँ /सर्वाधिक सिक्वेलको कीर्तिमान राखेको विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने फिल्मका लागि अहिले निर्देशक आचार्य कलाकार छनोटमा लागेका छन् । फिल्ममा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिएको छ । यसअघि उनीहरुले यही फिल्मको पाँचौ श्रृंखलामा सँगै काम गरेका थिए ।
फिल्म ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलाबाट अनुभव छुटेका छैनन् । उनी बिना यो फिल्मको सिरिज अधुरो मानिन्छ । त्यस्तै, सेड्रिनाले ‘नाईं नभन्नू ल ५’ मा लोभलाग्दो काम देखाएकी थिइन् । हाल भारतमा बसेर अध्ययन गरिरहेकी उनले दोस्रो फिल्म पनि आफूलाई ‘स्टार’ बनाएको ‘नाईं नभन्नू ल’ कै छैठौं सिरिज रोजेकी छन् । उनलाई पर्दामा हेर्न दर्शकहरु प्रतिक्षा गरिरहेका छन् ।

फिल्मको कथा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर लेखिरहेका छन् । फिल्मको दुई सेड्युलमा छायांकन हुने लेखक सामिप्यले बताए । उनले फिल्मीखबरसँग फोनवार्तामा भने, ‘सेड्रिनाका कारण फिल्मको दुई सेड्युलमा छायांकन हुनेछ । उनी जेठमा पढाइ सकेर नेपाल आएपछि दोस्रो चरणको छायांकन हुनेछ । त्योभन्दा अगाडि अरु कलाकारको सिन खिचिनेछ ।’‘नाईं नभन्नू ल ६’ मा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहेको जानकारी प्राप्त छ । यसपटक फिल्ममा तीन अभिनेत्री र एक अभिनेता हुनेछन् । तीनमध्ये एक अभिनेत्री भने नयाँ हुने निर्देशक आचार्यले बताए । अभिनेता पनि नयाँ खोज्ने उनको तयारी छ । नाम नै ब्रान्ड बनिसकेको ‘नाईं नभन्नू ल’ दर्शकले विश्वास गरेको सिरिज हो । यो फिल्मका सबै सिरिज बक्सअफिसमा हिट छन् ।