काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो । आईजीपी सर्वेन्द्र खनालले मङ्गलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो । यसअघि नायव महानिरीक्षक (डीआईजी) रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए ।
दर्ज्यानी चिन्ह ग्रहणपछि आईजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको आक्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रहेर गृह प्रशासन मातहतको उत्कृष्ठ नमुना सङ्गठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायीक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताए । यससँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरे ।









