कोरोना भाइरसको प्रभावले लुम्बिनीमा घटे चिनियाँ पर्यटक

प्रकाशित मिति:

बुटवल  – चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर बुद्ध जन्मस्थल लुम्बिनीमा पनि परेको छ । कोरोना भाइरस संक्रमणले संघीय सरकारको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षमा नकारात्मक असर परेको हो । संघीय र प्रदेश सरकारले अघिल्ल्ाो वर्षको तुलनामा भ्रमण वर्षमा चिनियाँ पर्यटक गुणात्मकरुपमा धेरै आउने अपेक्षा गरेका थिए । कोरोना भाइरस संक्रमणको सामना गरिरहेको चीनबाट यो वर्षको फेब्रुअरी १ तारिखदेखि ११ तारिखसम्म २१२ चिनियाँ नागरिक मात्र लुम्बिनी भ्रमणमा आएका छन् । अघिल्लो वर्षको फेबु्रअरी महिनाको सोही अवधि (११ दिन) मा भने एक हजार एक सय ११ जना चिनियाँ लुम्बिनी भ्रमणमा आएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।

यस्तै भारत हुँदै स्थलनाका बेलहियाबाट नेपाल आउने चिनियाँको संख्या पनि गत वर्षभन्दा फेब्रुअरी महिनामा आधा घटेको छ । गत वर्ष फेब्रुअरीको १ देखि ११ तारिखसम्म ७९६ जना चिनियाँ पर्यटक आएका थिए भने यो वर्षको फेब्रुअरीको पहिलो ११ दिनमा ३३७ जना चिनियाँ नेपाल भित्रिएका अध्यागमन कार्यालय भैरहवाका सूचना शाखाका युवराज घिमिरले जानकारी दिए । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले चिनियाँहरुलाई कडाई गरेपछि त्यसको असर लुम्बिनी परेको हो । अनलाइन भिसामार्फत भारत आएका चिनियाँलाई भारतले नेपालतर्फ पठाउने तर यताबाट भारत फर्किन नदिने नीति लिएको घिमिरेले बताए ।

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण लुम्बिनी मात्र नभइ नेपाल भ्रमण वर्षलाई धक्का लागेको नेपाल-चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटा बताउंछन् । ‘सरकारले चीनबाट धेरै पर्यटक आउँछन् भन्ने आशा राखेको थियो,त्यही अनुसार चीनसँग सरकार र नेकपाको सम्पर्क बढेको थियो,’ अग्रज पत्रकारसमेत रहेका सापकोटाले भने, ‘पर्यटक आउने मुख्य सिजनमै धक्का लागेपछि भ्रमण वर्षको सफलतामा प्रश्न उठेको छ ।’ समाजले चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली र बिरामी भएका चिनियाँको स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा चिनियाँ भिक्षुहरुको उपस्थितिमा प्रार्थना सभासमेत गरिएको अध्यक्ष सापकोटाले बताए ।

यसअघि जनवरी महिनामा समेत लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक मात्र नभइ भारतीय र नेपाली पर्यटकहरु पनि गत वर्षको तुलनामा घटेका थिए । यो जनवरीमा १३ हजार १०७ विदेशीले लुम्बिनी भ्रमण गरेकामा गत वर्षको जनवरीमा १३ हजार ६१९ जनाले भ्रमण गरेका थिए । बेलहियाबाट गत वर्ष जनवरीमा १२ हजार ४५२ विदेशी पर्यटक नेपाल आएकामा यो जनवरीमा ११ हजार ७५९ विदेशी पर्यटक नेपाल आएका थिए । गत वर्ष १९ हजार १६८ भारतीय लुम्बिनी आएकोमा यो जनवरीमा ६ हजारले घटेर १३ हजार ९७८ मा झरेको छ । लुम्बिनी पुग्ने नेपाली पर्यटक पनि अत्यधिक घटेका छन् । गत वर्ष जनवरीमा १ लाख १० हजार ३ सय जनाले भ्रमण गरेकामा यो वर्ष ६७ हजार ९४२ मात्रै रहेको कोषका सूचना अधिकृत बस्नेतले बताए । – अनलाइनखबर