बुटवल । रुपन्देहीको सबैभन्दा ठूलो गैडहवा तालमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी पहिलोपटक डुंगा सञ्चालनमा ल्याइएको छ । स्थानीय र लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न ३० जना र १६ जना क्षमताका दुईवटा स्टिमर तथा दुईवटा म्यानुअल गरी चारवटा डुंगा सञ्चालन गरिएको हो । ५० बिघा जलाशयसहित ८४ बिघा क्षेत्रफलको ताल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गैडहवा गाउँपालिकाले २० लाख रुपैयाँ लागतमा स्टिमर र डुंगा खरिद गरी चलाउन थालेको हो । संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष शुरुवातसँगै तालमा बाह्रै महिना नियमित डुंगा सञ्चालन थालिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । पहिलो वर्ष कम्तीमा एकलाख पर्यटकलाई डुंगा शयर गराउने उनले बताए । अर्को वर्ष स्टिमर थपेर ८ वटा पुर्याइने र वार्षिक दुईलाख पर्यटक भित्राउने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । हालसम्म माछापालन गरेर वार्षिक ८० लाख रुपैयाँ आम्दानी गर्दै आएको गाउँपालिकाले माछा पाल्न छाडेर अब डुंगा सञ्चालनमार्फत पर्यटनलाई प्राथमिकता दिई आम्दानी पनि दोब्बर बढाउने घिमिरेले बताए ।
हाल डुंगा शयर शुल्क सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको छ । ‘गाउँपालिकाको विकास र समृद्धिको मुख्य आधार यही ताल नै हो, गाउँपालिकाको नामाकरण पनि तालकै नामबाट गरिएको छ , गैडहवा ताललाई गौडहवाकै वडा नम्बर ९ स्थित तुल्सीहवा ताल र कञ्चन गाउँपालिकाको कञ्चन नदीसँगै लुम्बिनीसम्म जोडेर एकीकृत जल पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष केवट बताउँछन् ।









