नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नारा सहित गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ । औपचारिक कार्यक्रम पश्चात आज देशका विभिन्न स्थानबाट आएका यूवाहरुले आन्तरिक पर्यटनलाई समेत अभिबृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्दैछन् । नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो ।
देशभरिका जुनियर तथा युवा सर्कललाई बिभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिवद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । सडक सुरक्षा र प्राथमिक उपचार, विपद ब्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर बिभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गर्नुभयो ।
पहिलो सत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ IFRC महासचिव जगन चापागाईंले अनलाइन बाट प्रत्यक्ष रूपमा सहभागीहरुलाइ उत्प्रेरणा मुलुक प्रशिक्षण दिनु भएको थियोे । जुनियर तथा युवा रेडक्रसबाट आफ्नो यात्रा सुरु गरी उच्च तहमा पुग्नुभएका चापागाईसँगको अन्तरक्रियाले सहभागीहरु उत्साहित भएका थिए ।
गोष्ठीमा विभिन्न बिसयमा रास्टिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाइ प्रशिक्षण पनि दिइएको थियोे र सहभागि यूवाहरुले विभिन्न समुहमा सीपहरु अभ्यास गरेका थिए।
आइतबार उदघाटन समारोहमा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि प्रसाद न्यौपाने, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त केन्द्रीय जुनियर युवा रेडक्रस समिति सभापति सपूत बाहादुर कार्की, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा नगरपालिका उपप्रमुख बिना श्रेष्ठ नेरेसो केन्द्रीय सदस्यहरु शशी पन्थी, सुरेन्द्र ऎर ,हेमराज ओझा, सुर्यचन्द्र न्यौपाने ,नेरेसो कार्यकारी निर्देशक उमेश ढकाल ,आईएफआरसी नेपाल स्थित कार्यवाहक प्रमुख श्री हेरवे गाजाउ,आईसीआरसीका प्रतिनिधि कृष्णचन्द्र चालिसे, नेरेसो गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकाल ,बागमती प्रदेश महासचिव रामजी पौडेल ,नेरेसो गोरखा जिल्ला सभापति भगवानबाबू मास्के ,नेरेसो तनहुँ सभापति कृष्णहरि बाग्ले, केन्द्रीय रक्तसन्चार केन्द्र निर्देशक डा. मनिता राज कर्णिकार लगायत सहभागी रहनु भएको थियो









