गोकुल बाँस्कोटा र अन्य मतियारलाई तत्काल कारबाही गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह
काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बहालवाला मन्त्री र अन्य मतियारलाई तत्काली कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार उद्योग प्रकरणमा संग्लग्न तत्कालीन मन्त्रीसहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दबाब र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकतापूर्वक यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरुको गम्भीर ध्यानकर्षण गराउछौं ।”
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा टिप्पणी गर्दै भ्रष्टाचारीमाथि निर्मम कारबाही गर्नसमेत आग्रह गरेको छ ।
भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने निकाय ट्रान्सपरेन्सी इन्टरनेसनले शुक्रबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने घोषणा गरेको लामो समय बित्न नपाउँदै कहिले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा त कहिले सरकार सरकारकाबीचमा हुने खरिद सम्झौताका नाममा एकपछि अर्को हुँदै पटक-पटक अनियमितता र भ्रष्टाचारका प्रकरणले वर्तमान सरकारको भनाइ र गराईमा सामन्जस्यता नदेखिएको अनुभूति हुन थालेको जनाएको छ ।

विज्ञप्तिमा बाँस्कोटा प्रकरणका विषयमा भनिएको छ, “हालै मात्र सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बहालवाला मन्त्री र दलालबीचमा ७० करोडभन्दा बढी रुपैयाँ कमिसनको नाममा भ्रष्टाचार गर्ने बदनियतबाट बार्गेनिङ भइरहेको श्रव्य सामग्री प्रचारमा आएपछि सुशासन र समृद्धिको नारा दिइरहेको वर्तमान सरकारको विश्वसनीयतामाथि समेत ठूलो प्रश्न चिह्न खडा भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको अति विश्वास प्राप्त मन्त्रीबाटै नेपाली जनताको रगत पसिनाको कमाइबाट संकलित राजस्वको ठूलो रकम दलालसँगको मिलिभगतमा भ्रष्टाचार गर्न लागिएको दुष्प्रयासलाई गम्भीर अपराधको रुपमा लिइनुपर्दछ ।”









