असोज २७, २०७५ /लमही-दाङको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाअनुसार सञ्चालनमा ल्याइएको बृहत् दाङ सिँचाइ आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको छ । जिल्लाकोे ५६ हजार हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने उद्देश्यले दुई वर्ष अघि सञ्चालनमा ल्याइएको सो आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको सूचना अधिकारी मदनप्रसाद शाहले बताउनुभयो ।
उहाँका अनुसार दाङको ५६ हजार क्षेत्रफल जमिनमा सिँचाइ गर्न सल्यानको शारदा नदी र माडी नदीको पानी दाङमा ल्याउने योजना छ । शारदा नदीको पानीले दाङको १० हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ हुने अनुमान गरिएको तर माडीको पानी सर्वेक्षणको प्रक्रियामै रहेकाले कति क्षेत्रफलमा सिँचाइ हुन्छ भन्ने अझै यकिन हुन नसकेको सूचना अधिकारी साहको भनाइ थियो ।
पानी पर्याप्त नहुने भएकाले पहाडी क्षेत्र र बबई नदी पारीको क्षेत्रमा सिँचाइका लागि माडी र शारदाबाहेक अर्को विकल्प अपनाउनु पर्ने देखिएकाले राप्ती राजमार्गको माथि र तलबाट बाँध बनाएर बबई पारी रहेको दुई हजार हेक्टर जमिनमा सिँचाइ गर्न सकिने र सबै खेतमा सिँचाइ पु¥याउन डाईभर्सन्, लिफ्ट, मूलमा पोखरी र वर्षात्को पानी जम्मा गरेर पटाइने प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।












