२९ वर्षपछि अभियुक्त पक्राउ

प्रकाशित मिति:

जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की पक्राउ परेका हुन् ।

जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो ।

घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका वेला जिल्लाबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेश गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए ।