दशैंमा शून्य रहेका बजारमा चहलपहल शुरु

प्रकाशित मिति:

विजया दशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजारमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् । विजया दशमीकै दिन टीका लगाउने प्रचलनका कारण जिल्लामा उक्त दिन मध्यरातसम्म नै मानिसको आवजजावत बढ्दै गएको छ । घरका ज्येष्ठ सदस्य र मान्यजनबाट टीका लगाई आशिर्वाद लिन यसअघि रित्तिएका गाउँबस्तीमा दशैँका बेला भने चहलपहल बढेको थियो । दशैँको टीका लगाएसँगै रोजगारीका सिलसिलामा आफ्नो कार्यस्थल फर्कनेहरूको यतिखेर बजारमा लर्को लागेको छ भने दुई–चार दिनका लागि भरिएका गाउँ बस्ती पुनःरित्तिन थालेका छन् । यात्रुको चापका कारण सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ भएको छ ।