गल्याङ/ स्याङ्जाको गल्याङ नगरपालिकामा एक सय दश जना होम क्वारेन्टाइनमा रहेका छन् । चैत्र दुई गते यता भारत सहित विदेशबाट नगरपालिकामा आएका एक सय दुई जनालाई होम क्वारेन्टाइनमा राखिएको हो । त्यस अघि विदेशबाट आएकाहरुलाई साबधानीपूर्वक रहन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“फागुन महिनामा आएकालाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो । दुई हप्ता भन्दा बढि भएकाले उनीहरुलाई अब होम क्वारेन्टाइनमा बस्नु नपर्ने भएकाले साबधानी अपनाउन मात्रै भनिएको हो ।”
नगरपालिकाका विभिन्न वडाहरुमा विदेशबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । अहिले गल्याङ नगरपालिकाको वडा नम्बर एक मा चार जना, वडा नम्बर दुईमा सात जना, वडा नम्बर तीनमा छ जना, वडा नम्बर चारमा १८ जना होम क्वारेन्टाइनमा बसेका छन् । यस्तै, वडा नम्बर पाँच मा दुई जना, वडा नम्बर छ मा १४ जना, वडा नम्बर सात मा २३ जना, वडा नम्बर आठ मा छ जना, वडा नम्बर नौ मा आठ जना, वडा नम्बर दश मा दश जना, वडा नम्बर ११ मा १२ जना घरमै क्वारेन्टाइनमा बसेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । केही वडामा होम क्वारेन्टाइनमा बस्न अप्ठेरो मान्नेहरुलाई सम्झाउने बुझाउने गरिएको स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार होम क्वारेन्टाइनमा बस्ने सबै एक सय दश जनाको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो रहेको छ ।
कार्यविधि
स्याङ्जाको गल्याङ नगरपालिकामा लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत बाँड्नका लागि कार्यविधी बनाइने भएको छ ।
विभिन्न वडाबाट समस्यामा परेका विपन्न परिवारको तथ्याङ्क संकलन भइरहेको र राहत बाँड्नका लागि कार्यविधि बनाउन लागिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“वडामा राहत दिनुपर्ने व्यक्तिहरुको नामावली आइरहेको छ, हामीले कार्यविधि तयार गरेर राहत बाँड्ने काम गर्छौं ।” नगरप्रमुख अधिकारीले सरकारले लकडाउन गरेका कारण विपत्तिमा परेका वास्तविक मजदुर वा त्यस्तै खालका व्यक्तिहरुलाई राहत दिने स्पष्ट पार्नुभयो । वडाबाट धेरै जनाको नाम आइरहेको भन्दै उहाँले कार्यविधिबाट पारित हुनेहरुले मात्रै राहत पाउने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –“वास्तविक पिडामा परेकोले नपाउने तर हुने खानेले पाउने हुनुहुँदैन । हामीले कार्यविधि बनाएर राहत बाँड्छौं ।”
यसअघि शनिबार नगरप्रमुखको अध्यक्षतामा बसेको कोरोना नियन्त्रण तथा रोकथाम समितिको बैठकले लक डाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । तीन दिन भित्र वडाले विपत्तिमा परेकाहरुको नाम पहिचान गरी नगरपालिकामा पेश गर्ने निर्णय भए अनुसार केही वडाहरुले पीडितहरुको नाम पेश गरेका छन् । केही वडाले भोलि पीडितहरुको नामावली पेश गर्दैछन् । वडाहरुलाई सिमान्तकृत गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय, तथा सडक जीवन विताइरहेकाहरुको आधारमा नामावली तय गर्न नगरपालिकाले निर्देशन दिएको छ । कोरोना नियन्त्रण, रोकथाम र राहतका लागि गल्याङ नगरपालिकाले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।









