तिलोत्तमामा लकडाउन कडा :चारै दिशाका नाकामा टोल विकास संस्थाको ड्युटी

प्रकाशित मिति:

बुटवल/हरेक विषयमा अग्रगामी निर्णय र कार्यक्रम गर्दै राष्ट्रियस्तरमै चर्चाको शिखरमा रहेको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन लकडाउनको पूर्ण पालनामा पनि उस्तै कडा कदम चालेको छ । नगरपालिकाले नगर प्रवेश हुने पुर्व,पश्चिम,उत्तर र दक्षिण गरी चारै दिशाका नाकाहरुमा टोल विकास संस्थाका पदाधिकारीलाई नै खटाएर अपरिचित व्यक्ति र अत्यावश्यक वाहेकका काममा आवत जावत गर्ने व्यक्तिलाई रोकेको छ ।
जस अनुसार तिलोत्तमा ११ को गणेशनगर टोल विकास संस्थाले शिवपुर–गणेशनगर सडक खण्डको सुखौरा खोला पुलमा चैत २५ गतेदेखि संस्थाका पदाधिकारी र स्थानीयको उपस्थितिमा अपरिचित व्यक्ति र अत्यावश्यक वाहेकका काममा आवत जावत गर्ने व्यक्तिलाई रोकेका छन् ।

टोल विकास संस्थाका अध्यक्ष टेकसिंह थापा,सचिव गोविन्द पौडेल लगायतका पदाधिकारी आफै खटिएर लकडाउनको अवधिमा जथाभावी सवारी साधन नचलाउन र हिंडडुल नगर्न आग्रह गर्दै सरकारले भने अनुसार अत्यावश्यक भन्दा अनय काममा हिंडेका व्यक्तिलाई वडाभित्र प्रवेशमा रोक लगाएका छन् । टोल विकास संस्थाका अध्यक्ष थापाका अनुसार कोही व्यक्तिले सम्झाउंदा जबरजस्ती गरेमा प्रहरीलाई खबर गरेर बुझाउने गरिएको छ । बिहान ७ बजेदेखि सांझसम्म पुलमा निगरानी गरी हरेक दिन २०–२५ जनालाई फर्काइदिने गरिएको सचिव पौडेलले बताए ।

गणेशनगर टोल विकास संसथाको यो सक्रियततालाई धेरैले प्रशंसा गरेका छन् । नगरपालिकाको वडा नंं. ३ ले पनि शनिबार सुदुरपश्चिम जान हिंडेका ९ जना मजदुरलाई योगीकुटीमा रोकेर ठेकेदारको जिम्मा लगाउंदै फर्काइदिएको थियो । तिलोत्तमा नगरपालिकाले दक्षिणमा कोटिहवा,पुर्वमा रोहिणी पुल,उत्तरमा योगीकुटी,सुखौरा खोला पुल, पश्चिममा मगरघाट पुल लगायत दर्जन बढी स्थानमा चेक प्वाइन्ट बनाएर लकडाउनको पूर्ण पालनामा क्रियाशील रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । नेपाल सरकारले लकडाउनको घोषणा गर्नु अगाडि नै तिलोत्तमाले नगरभित्र लकडाउनको निर्णय गरेको थियो । नगरपालिकाले शंकरनगरस्थित दुर्गादत्त मासवको भवनलाई क्वारेन्टाइन बनाएर बाहिरी मुलुकबाट आएका व्यक्तिलाई राख्ने गरेको छ । तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइन पनि देशभरमै सुविधासम्पन्न र नमूना रहेको भनेर प्रशंसा हुने गरेको छ ।