पिट्सबर्ग — अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् ।अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा ‘ट्री अफ लाइफ’ नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका व्यक्तिको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । ‘सबै यहुदी मर्नै पर्छ’ भन्दै रोबर्टले गोली चलाउन सुरु गरेका थिए ।प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । संघीय अभियोजनकर्ताहरुले हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्ड समेत हुनसक्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणमाथि गोली चलाएर भएको आमहत्याको भर्त्सना गरेका छन् । इलेनोइसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यहुदी प्रार्थनाघरमा भएको आमहत्या हामी सबैमाथि भएको जघन्य अपराध रहेको बताए ।












