गल्याङ नगरपालिकाको राहत कोशमा सहयोग आउने क्रम जारी

प्रकाशित मिति:

गल्याङ । गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा राहत रकम तथा जिन्सी सामाग्री आउने क्रम बढेको छ । विभिन्न संस्थाहरुले राहत रकम तथा राहत सामाग्री सहयोग गरिरहेका छन् । गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिका २ मा रहेको राधाकृष्ण आमा समुहको तर्फबाट १८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । आमा समूहका अध्यक्ष विष्णु गौडेलले नगरप्रमुख भुपराज अधिकारीलाई यो रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी, दौना विदा जीवनदान नेपालका अध्यक्ष भिमप्रसाद शर्मा पौडेलले संस्थाको तर्फबाट सात हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । यस्तै, रेडक्रस सोसाईटी गल्याङ शाखाको तर्फबाट सभापति लक्ष्मण भट्टराईले गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी, गल्याङ सामुदायिक केन्द्रबाट पनि अध्यक्ष लक्ष्मण भट्टराईले गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै, शुभविहानी बचत तथा ऋण सहकारी संस्थको तर्फबाट अध्यक्ष खगिसरा भण्डारीले पाँच हजार पाँच सय रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । राहत रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जम्मा भएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याउने प्रतिबद्वता जनाउनुभयो । उहाँले समस्याको बेलामा सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म रहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अहिले मौकामा हिरा फोर्ने बेला हो, अझै सहयोग गर्न सबैमा अपिल गर्दछु ।’थोरै थोरै सहयोग बाट नै ठूलो राशी जम्मा हुने भएकाले आफुले दिने रकमलाई थोरै वा सानो नसम्झन उहाँले आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले नसक्नेहरुलाई अहिले बचाउनुपर्ने बेला आएको भन्दै सक्नेहरुले भने आश गर्न नहुनेमा जोड दिनुभयो । आइतबारसम्म गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषमा १४ लाख ३६ हजार नौ सय ९७ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो । यस्तै । स्याङ्जाको गल्याङ नगरपालिकामा दोश्रो चरणको राहत वितरण सुरु भएको छ । नगरपालिका भित्रका अति विपन्नहरुलाई छनौट गरी राहत वितरण गर्न आइतबार सुरु गरिएको हो । आइतबार गल्याङ नगरपालिका वडा नम्बर तीनमा राहत वितरण सुरु गरिएको छ । नगरप्रमुख भुपराज अधिकारीले वडाध्यक्ष महेश भट्टराईलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएपछि राहत वितरण सुरु भएको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले वास्तविक पीडितहरु सामु राहत पु¥याउने शिलसिलामा वडा नम्बर तीनबाट दोश्रो चरणको राहत वितरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले धेरै विपन्नहरु बजार क्षेत्र रहेको वडा नम्बर तीनमा रहेकाले यस ठाउँबाट नै राहत बाँडिएको बताउनुभयो । नगरप्रमुख अधिकारीले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न नगरपालिका सधैं प्रतिबद्व रहेको बताउनुभयो । वास्तविक पिडीतहरुसम्म नगरपालिकाका जनप्रतिनिधिहरु नपुगेको भए खबर गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष महेश भट्टराईले वडा भित्र रहेका अति विपन्नहरुलाई छनौट गरी राहत बाँड्न सुरु गरिएको बताउनुभयो । उहाँले एक सय नौ परिवारका चार सय १९ जना लाई राहत वितरण गर्न लागिएको बताउनुभयो । अध्यक्ष भट्टराईले सबै विपन्नहरुलाई राहत बाँड्नका लागि नगरपालिका र वडा सधैं क्रियाशिल रहेको बताउनुभयो ।