दिएर नथाक्ने कपिलवस्तुका तरुण दल र नेविसंघ, सुरु गरे दोश्रो चरणको राहत वितरण

प्रकाशित मिति:

कपीलवस्तु । अन्य दलका भातृसंगठन कोरोना महामारीमा सुस्ताएको आरोप लागिरहेका बेला नेपाली कांग्रेस निकट दुई भातृ संगठनले कपिलवस्तुमा उदाहरणीय काम गरेका छन् । विश्वभर कोरोना महामारीबाट बच्न भएको लकडाउनमा अति मारमा परेकाहरु विचल्लीमा परेको आवाज सुनेदेखि तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तु महिनाभर विपन्नहरुको घरघरमा आवश्यक सामग्री लिएर पुगेका छन् । लगभग कपिलवस्तु जिल्लालाई प्रतिनिधित्व हुने गरी महिनाभर गाडीभरी राहत बाँड्दै हिँडेका यी दुई संगठनले फेरि दोश्रो चरणको राहत वितरण सुरु गरेका छन् । तरुण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी र विद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको नेतृत्वको टोलीले पहिलो चरणमा करिब ७ सय अति विपन्न परिवारलाई राहत बाँडिएकोमा बाणगंगा ६ सुठौलीबाट दोश्रो चरणको राहत वितरण अभियान सुरु भएको अध्यक्ष शक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

ठकुरीका अनुसार कहिँकतैबाट राहत नपाएका त्यहाँका २३ परिवारलाई आइतबार राहत बाँडिएको छ । सामाजिक दुरी कायम गरी आइतबार प्रतिपरिवार एक एक बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको ठकुरीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । दोश्रो चरणको राहत अति विपन्न परिवार, जसले विहान साँझ हातमुख जोर्न धौधौँ मानेका छन्, तिनलाई मात्र वितरण गरिने छ । यसको लागि सम्बन्धित स्थानीय तहलाई लगत संकलन गर्न भनिएको छ भने संगठनका नेता कार्यकर्ता चर्को घाममा घरहरु खोज्दै हिँड्ने गरेका नेविसंघ नेता पोख्रेलले जानकारी दिनुभयो ।राहत पाएपछि उनीहरुले राज्यले राहत वितरणमा विभेद गरेको बताउँदै खुसी ब्यक्त गरेका छन् । लकडाउन घोषणा भईसकेपछि श्रमिक, मजदुर, गरिव तथा अति विपन्न परिवारलाई धेरै नै समस्या हुने गरेको छ । त्यही समस्यालाई बुझेर तरुण र विद्यार्थीहरुले खाजा र अन्य फजुल खर्च कटाएर राहत वितरण गरेको बताइएको छ ।

साथै यो राहत वितरणमा मातृ पार्टी कांग्रेस, प्रतिनिधि सांसद अत्तहर कमाल, कांग्रेस जिल्ला सभापति सुरेन्द्र आचार्य, पार्टीका अन्य भातृसंगठन र बिभिन्न संघ संस्थाले सहयोग गरेका बताइएको छ ।यत्ति मात्र होइन यी संगठनले आगो लागि पीडितहरुलाई पनि राहत बाँडिसकेका छन् भने गर्मीसंगै औँलो, कालाजार र डेँगी रोगको संक्रमण फैलन सक्ने भन्दै झुल वितरण पनि गरिहेका छन् । युवा नेता ठकुरी र पोख्रेलले यो विपत्तिमा कसैले राजनीति गर्न नहुने भन्दै सबै मिलेर जुधेमा मात्र कोरोनाको लडाइमा जित हासिल गर्न सकिने बताउनु भयो । पोख्रेलले जनताको सेवा गर्न आफूहरु कहिल्यै नथाक्ने बताउनु भयो । उहाँहरुले नगरपालिका र प्रदेश सरकारले कोरोना विपत्तिमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भयो ।दोश्रो चरणको राहत वितरणमा जिल्ला सदस्य रबि काफ्ले, क्षेत्रीय सचिव प्रेमनारायण पौडेल तरुण दलका कल्याण टण्डन, राजन आले, कृष्ण पराजुली, गोबिन्द आचार्य, नेविसंघका राममणी पौडेल लगायतको सहभागिता रहेको थियो ।