बुटवलको कोरोना विशेष अस्पतालमा २ सय बेड थपिंदै

प्रकाशित मिति:

बुटबल वैशाख ३१ । प्रदेश सरकारले बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताललाई थप विस्तार गर्ने भएको छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढदै गएकोप्रति मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा मंगलवार बसेको बैठकले २ सय बेड थप गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा रहेको उक्त अस्पताललाई विस्तार गरेर २ सय बेड थप्ने निर्णय गरिएको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितीका अध्यक्ष सुर्यबहादुर भट्टराईले बताए । उक्त अस्पतालमा अहिलेसम्म ३६ आइसोेलेसन र ८ आइसियु बेड संचालनमा रहेको छ । संक्रमित संख्या बढ्दै गएकाले क्षमता विस्तार गरी बेड थप गर्ने निर्णय भएको उनले बताए । कपिलवस्तु र रुपन्देही गरी संक्रमित हुनेको संख्या ४५ पुगेको छ । जसमध्ये रुपन्देहीका १६ र कपिलवस्तुका २९ छन् । रुपन्देहीका पहिलो संक्रमित भने उपचारपछि मंगलवार घर फर्किएका छन् ।