आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा – शोध

प्रकाशित मिति:

यतिबेला अधिकांश बालबालिका घरभित्र छन् । आमाबुबासँग छन् । उनीहरूले आफ्ना परिवारलाई अरू नजिकबाट नियाल्न पाएका छन् । विद्यालय वा पढाइबाट अहिले उनीहरुको ध्यान हटेको छ । त्यसैले उनीहरू आफ्ना परिवार, आमाबुबा, भाइबहिनीसँग बढी एकाकार भएका छन् । यो अवस्थामा घरको माहौल अर्थात् आमाबुबाको व्यवहार, सम्बन्ध, बोलीचाली आदिको प्रभाव उनीहरूको मस्तिष्कमा गहिरोसँग रहन्छ । जसको प्रभाव जीवनभर रहन्छ । घरको माहोल एवं वातावरण कस्तो छ भन्ने कुराले पनि उनीहरूको मानसिक र मनोवैज्ञानिक विकासलाई प्रभावित बनाउँछ । यदि घरको वातावरण खराब छ । आमाबुबाकाबीच सम्बन्ध सुमधुर छैन, परिवारका सदस्यहरूको बोली(व्यवहार ठिक छैन भने उनीहरूको मस्तिष्कमा यसको गहिरो असर पर्छ, जो जीवनभर कायम रहन्छ।

के भन्छ अध्ययन ? जर्नल अफ अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित एक अध्ययनअनुसार बाल्यकालमा प्रतिकूल पारिवारिक वातावरणमा हुर्किएका बच्चाहरूलाई पछि गएर हृदय अर्थात् मुटुको रोग लाग्ने सम्भावना अधिक रहन्छ । खराब पारिवारिक माहोलमा हुर्केका बच्चाहरू वयस्क भएपछि उनीहरूको मुटुमा समस्या देखिन सक्छ । बालबच्चाप्रति दुर्व्यवहार गर्ने, आमाबुबा झगडा गर्ने, सधैंजसो कलह र अशान्ति छाउने परिवारमा हुर्किएका बच्चापछि गएर हिंस्रक, क्रोधी हुन सक्छ । त्यसो त सानै उमेरमा पनि उनीहरू डिप्रेसन, एन्जाइटी जस्ता समस्याले ग्रसित हुन सक्छन् । खराब पारिवारिक माहोलमा हुर्किएका बच्चाहरुमा हीनताबोध हुने, झगडालु स्वभावका हुने, लागुऔषधको लतमा फस्ने सम्भावना पनि अत्याधिक हुन्छ ।उनीहरूमा असामाजिक वा साथीभाइसँग घुलमिल नहुने स्वभाव विकास हुनपुग्छ ।बुबाआमाको झगडा वा एकअर्काले गर्ने खराब व्यवहारको कारण बालबच्चाले रचनात्मक क्षमता समेत गुमाउन सक्छ । उनीहरूको सिर्जनशीलता प्रस्फुटन हुन पाउँदैन ।खराब पारिवारिक माहोलमा हुर्किएका बच्चाहरू सधैं भयाभित रहने हुन्छ । उनीहरूमा असुरक्षाको भाव रहन्छ ।

अब के गर्ने त ? व्यवहारिक जीवन चलाउने क्रममा श्रीमान् र श्रीमतीबीच मतभेत हुन सक्छ । कतिपय कुरामा मनमुटाव वा भनाभन हुन सक्छ । तर, जब उनीहरूले आफ्नो आवेग र रिसलाई नियन्त्रण गर्न सक्दैनन्, परिवारको वातावरण नै बिग्रिन्छ । आमाबुबाबीच हुने यस किसिमको भनाभन, झगडाबाट निर्दोष बच्चाले यातना भोग्नुपर्ने हुन्छ । त्यसैले आफ्ना बच्चाको भविष्य सम्झेर पनि घर परिवारको वातावरण खराब हुन दिनहुन्न ।बालबच्चाको अगाडि झगडा गर्नु वा भनाभन गर्नु त अझ खराब हो । त्यसैले श्रीमान् र श्रीमतीले आपसी मतभेतमा अलग्गै बसेर पनि छलफल गर्न सक्छन् ।बालबालिका स्वभावैले चञ्चल र जिज्ञासु हुन्छन् । हरेक कुरा जान्न खोज्ने हुन्छन् । त्यसो त उनीहरूको मस्तिष्कको तीव्र विकास हुने अवस्था पनि हो यो । त्यसैले यतिबेला उनीहरू नयाँ-नयाँ कुरा जान्न, बुझ्न, सिक्न र अनुभव गर्न उत्सुक रहन्छन् । त्यसैले उनीहरूलाई स-सना कुराको पनि चाँडै प्रभाव पर्छ।@onlinekhabar