कर्मचारीको पिसिआर टेष्ट नेगेटिभ , परिक्षणबाट नेगेटिभ आएपछि कर्मचारी ढुक्क
स्याङ्जा—४ जेठ-स्याङ्जाको सिमा नाकामा काम गर्ने कर्मचारीले कोरोना सुरक्षितको महशुष नगरेपछि उनीहरुको पिसिआर टेष्टका लागि स्वाव लिइएको थियो । ८ जना कर्मचारी र २ जना सर्वसाधरणको पिसिआर टेष्टबाट कोरोना नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । दुई प्रदेशको सिमा नाका राम्दीमा कार्यरत कर्मचारीको कोरोना नेगेटिभ आएपछि अहिले कर्मचारीमा केही हदसम्म भएपनि ढुक्क हुने अवस्था आएको छ । शुक्रवार स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा सहितको प्राविधिक टोलिले सिमामा कार्यरत कर्मचारीको स्वाव पिसिआर टेष्टका लागि लिएको थियो ।सिमा नाकामा खटिएका कर्मचारी कोरोना भाइरसबाट जोखिम मोल्दै भन्ने समाचार बाहिर आएपछि जिल्ला सुरक्षा समिति सहित जिल्ला रेडक्रस र स्वास्थ्यकर्मी सहितको टोलि राम्दी पुगेको थियो ।
सरकारले कोरोना भाइरस फैलिन नदिन गरेको लकडाउनको ५५ दिन पुगेको छ । ५५ दिन सम्म सिमा नाकामा बसेर काम गरेका कर्मचारीको पिसिआर टेष्टबाट कोरोना नेगेटिभ देखिएपछि उनीहरुमा आत्मबल बढेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले बताए । कोरोना संक्रमणबाट बच्न सबै भन्दा उत्तम उपाय भनेको घरमै बस्ने हो प्रमुख शर्माले भने,“सिमित साधन श्रोतले काम गर्नुपर्ने बाध्यतामा स्वास्थ्यकर्मीहरु रहेका छन् त्यसैले सरकारले गरेको लकडाउनलाई सघाउनु आवश्यक छ । विश्वभर फैलिएको कोरोना माहामारीबाट बच्न सुरक्षित स्थान भनेकै अहिलेको अवस्थामा घर हो उनले भने ।जिल्लामा अहिले सम्म स्याङ्जामा ९०९ जनाको आरडिटीबाट र ११३ जनाको पिसिआरबाट कोरोना टेष्ट गरिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
अहिले सम्म परिक्षण गरिएका सबै रिपोर्टहरु नेगेटिभ आएको स्वास्थ्य प्रमुख शर्माले बताए । सबै पालिकामा कोरोना संक्रमणको स्याम्पल लिन सक्ने जनशक्तिको अभाव रहेको छ शर्माले भने,“अब सबै पालिकामा पिसिआर लिनका लागि तालिम दिएर स्वास्थ्य प्राविधिक खटाउदै छौं ।” सबै पालिकामा पिसिआर लिने स्वास्थ्य प्राविधिक खटाएपछि केही सहज हुने छ उनले भने । छिमेकी ५ नम्वर प्रदेशमा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि स्याङ्जामा उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । बाहिर बाट आउने सबै नाकाहरु सिल गरिएको प्रजिअले बताए ।












