काठमाडौं, जेठ ७ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा आज सार्वजनिक गर्न लागिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आज नक्सा सार्वजनिक गर्ने भएकी छन्। नेपाल टेलिभिनबाट आज दिउसो सवा २ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्री अर्यालकी प्रेस संयोजक देविका घर्तीमगरले बताइन्।मन्त्रिपरिषद्ले सोमबार नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ।यसलाई मुख्यसचिव लोकदर्शन रेग्मीले नयाँ नक्सा प्रमाणीकरण गरिसकेका छन्। उनले मंगलबार नक्सा प्रमाणीकरण गरेको जनाएको छ।
नयाँ नक्सा अनुसार, नेपालको क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ बर्गकिलोमिटर हुनेछ। अहिले अतिक्रमित क्षेत्रको तीन स ३५ किलोमिटर भूभाग समेटिएको छ। यसअघि नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ बर्गकिलोमिटर थियो।कालापानी र लिपुलेकको क्षेत्रफल समेटिएको भएपनि लिम्पियाधुराको क्षेत्रफल समेटिएको थिएन्। अहिले पनि तीनै ठाउँमा भारतीय सुरक्षाकर्मी तैनाथ छन्।आज नक्सा सार्वजनिक गरेसँग प्रयोगमा ल्याइनेछ। देशभर नयाँ नक्सालाई नै प्रयोगमा ल्याउने तयारी रहेको छ।भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेपछि सीमा विवाद चुलिएको हो। पिथौरागढदेखि तिब्बतको सीमा क्षेत्र लिपुभञ्यासम्म सडक निर्माण गरेको छ। जसमध्ये १६ किलोमिटर कालपानी अतिक्रमण गरेर बनाएको छ।









