काठमाडौं १३ जेठ, । बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् ।यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ । बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन खुकुलो बनाउने सम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ ।प्रधानमन्त्री जोन्सनका अनुसार आउटडोर मार्केट र कारका शोरुमह १ जुनदेखि खोल्न सकिने छ । १ जुनदेखि नै इङ्गल्याण्डमा बालबालिकाका स्कुलहरु पनि खोलिने छ ।
यसअघि गत आइतबार प्रधानमन्त्री जोन्सले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणको सुरुवातका लागि तयार रहेको बताएका थिए ।बेलायतको स्वास्थ्य विभागका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १२१ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्तिहरुको संख्या अब ३६ हजार ९ सय १४ पुगेको छ ।कोरोना संक्रमणको हिसाबमा बेलायत विश्वका देशहरुको सूचीमा चौथो स्थानमा छ । बेलायतभन्दा अगाडि अमेरिका, ब्राजिल र रुस छन् । मृत्युको हिसाबमा भने अमेरिकापछि दोस्रो स्थानमा बेलायत छ ।









