१६ लाख बढीको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

प्रकाशित मिति:

दाङमा १६ लाख बढी नेपाल टेलिकमको रिचार्जकार्ड चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । उनको साथबाट १६ लाख १० हजार रुपैयाँका रिचार्ज कार्ड समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

रिचार्ज चोरी गरी रोल्पा थवाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पुनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

उनलाई पक्राउ गरेपछि रोल्पा र उनको ससुराली प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ मा लुकाई छिपाई राखेको अवस्थामा रिजार्च कार्ड बरामद गरिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

रोल्पाबाट ५० का दरका चारसय थान, एकसय दरका दुई हजार थान रिचार्जकार्ड बरामद गरिएको हो । त्यस्तै प्यूठानबाट ५० दरका रिचार्जकार्ड तीन हजार छ सय थान र एकसय दरका आठ हजार पाँच सय थान र पाँच सय दरका तीन सय ६० थान थान बरामद गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

जम्मा १६ लाख दश हजार बरामद गरिएको छ र थप रिचार्ज कार्डका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।