दुई अर्ब लागत लक्ष्य सहित एग्रो फार्म शिलान्यास

प्रकाशित मिति:

काठमाडौं । जनकपुर एग्रो फार्म प्रा।लिले धनुषाधाम वडा नं ९ मा कुखुरा फार्म सञ्चालनमा ल्याउने भएको छ । प्रा।लिले शुक्रबार फार्मको शिलान्यास गरेको हो । कुल दुई अर्बको लगानीमा बन्न लागेको कुखुरा फार्ममा लेयर्स कुखुरा पालिने सञ्चालक मध्येका एक शोभाकान्त ढकालले जानकारी दिए ।

उनले ६ लाख क्षमताको अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिने फर्म नेपाल कै अहिलेसम्मकै ठूलो लगानी रहको फर्म हुने दावी गरे । ‘हाम्रो जानकारीमा भए अनुसार लेयर्स फार्मको हकमा अहिलेसम्मकै ठूलो फार्म हो, यसमा ६ लााख कुखुरा पालेर सो मार्फत दैनिक पाँच लाख अण्डा उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ पशुसेवा विभागको तथ्याङ्क अनुसार दैनिक २६ लाख गोटा अण्डाको माग छ । करिब साढे ११ विघा क्षेत्रफलमा सञ्चालन गरिने फार्ममा आवश्यक संरचना निर्माण कार्य एक वर्षमा सम्पन्न गरिने र उत्पादन सुरु गरिने ढकालले बताए । फार्म पूर्णरुपमा सञ्चालनमा आउनको लागि डेढ देखि दुई वर्ष लाग्ने उनको भनाई छ । ‘उच्च स्तरीय प्रविधिको प्रयोग गरेर पुर्ण स्वचालित प्रविधिबाट वातावरण अनुकुल बनाएर उत्पादन अण्डा उत्पादन हुनेछ,’ उनले भने,‘ अण्डाको अत्याधिक माग भैरहेकोले त्यसको माग पुरा गर्न यो योजनाले धेरै हदसम्म सहयोग गर्नेछ ।’ यो योजनाबाट प्रत्यक्ष रुपमा दुई सयले रोजगारी पाउने सञ्चालकहरूको भनाई छ ।