प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको एक रुपैयाँ अंकित दरका ६० लाख कित्ता प्राथमिक शेयर आईपीओ जारी गरेको छ । कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।
कम्पनीले जारी गरेको आईपीओमा इच्छुक लगानीकर्ताले पुस २ गते भित्र आवेदन दिइसक्नुपर्ने व्यवस्था छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयहरु तथा मेरो शेयरको मोबाइल एप र वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन् ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। जारीपूँजी २ अर्ब रहेको कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गरेका हो। हाल संस्थापक तर्फको १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि २ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ भने संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ।












