प्रभु लाइफमा दोस्रो दिनमै करिब ७ लाखको आवेदन

प्रकाशित मिति:

प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको साधारण शेयर आईपीओ मा दोस्रो दिनमा नै करिब ७ लाख आवेदकबाट १ अर्ब ८७ करोडको शेयर माग गरेका छन् । दुई दिनभित्रै करिब ७ लाख आईपीओको आवेदन पर्दै कम्पनीमा नयाँ रेकर्ड समेत बनेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ ७ बजेसम्ममा ६ लाख ९६ हजार वटा आवेदन मार्फत १ अर्ब ८७ करोड रुपैयाँ बराबरको १ करोड ८७ लाख कित्ता शेयर माग भएको हो । कम्पनीले सर्वसाधारणमा ५४ लाख कित्ता शेयर निष्काशन गरेकोमा दोस्रो दिनसम्ममा ३।९४६ गुणा धेरैको माग परेको हो । पहिलो दिन १।७८ गुणा आवेदन परेको थियो । दुई दिनमा ७ लाखको आवेदन पर्नुले यस निष्काशनमा आईपीओ आवेदन १० लाख पुग्ने अनुमान गरिएको छ ।

कम्पनीले कुल ६० लाख कित्ता शेयर निष्काशन गरेकोमा ३ लाख कित्ता सामूहिक लागनीकोषहरु र अर्को ३ लाख कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीले जारी गरेको आईपीओमा इच्छुक लगानीकर्ताले पुस २ गते भित्र आवेदन दिइसक्नुपर्ने व्यवस्था छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयहरु तथा मेरो शेयरको मोबाइल एप र वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन् ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। जारी पूँजी २ अर्ब रहेको कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गरेका हो। हाल संस्थापक तर्फको १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि २ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ भने संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ ।