कार्तिक २८, २०७५ विश्व बैकले पुल सुधार तथा मर्मत सम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयनका लागि नेपाललाई १८ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सो सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव राजन खनाल र नेपाल, बंगलादेश र भुटानका लागि विश्व बैकका निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो । दोस्रो पुल सुधार तथा मर्मत सम्भार परियोजना कार्यान्वयन अन्र्तगत पुल निर्माणका लागि विश्व बैकले १३ अर्ब ३० करोड रुपैयाँ ऋण स्वरुप उपलब्ध गराउनेछ । जसबाट ४ सय बढी पुल निर्माण हुने अर्थ मन्त्रालयले जनाएको छ । यस्तै खाद्य तथा पोषण सुदृढीकरणका लागि बैंकले ४ अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । सो परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्व शर्त भएकाले नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकको थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । यस्तै, विश्व बैकका उपाध्यक्ष हार्टविग साफेरले नेपाललाई समृद्ध मुलुक बनाउन दुबै परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।












