शिबपार्वती बृद्धाश्रम एवम् बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं साधारणसभा एवम् चौथो अधिबेशन
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीमा शिबपार्वती बृद्धाश्रम एवम् बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं साधारणसभा एवम् चौथो अधिबेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि भागवत अलंकार नेत्रप्रसाद पराजुलीले संस्थाले जेष्ठ नागरिकका लागि निकै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।उहाँले अनाथ तथा असाहाय जेष्ठ नागरिकको सेवामा क्रियाशिल रहेको भन्दै शिबपार्वती बृद्धाश्रम एवम् बहुउद्देश्यीय सहकारी संस्थाले यस क्षेत्रमा नै उदाहरणीय काम गरेको बताउनुभयो ।
पराजुलीले संसारमा छोडेर जादा आफ्नो केही नहुने भएकाले यस्ता पुनित कार्यहरु व्यक्ति वा संस्थाले सधैं गर्दै जानुपर्ने बताउनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले शिबपार्वती बृद्धाश्रम एवम् बहुउद्देश्यीय सहकारी संस्था वालिङमा स्थापित भएपनि राम्दीमा आइ जेष्ठ नागरिकहरुका लागि कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले गल्याङ नगरपालिका पनि जेष्ठ नागरिक आश्रमलाई अझै आधुनिक र व्यवस्थित बनाउने पक्षमा रहेको भन्दै सहकार्य गरी पुण्य काममा हातेमालो गर्न आग्रह गर्नुभयो ।
फरक ठाउँको संस्था हुँदा छलफल कम हुने गरेको र यसले कहिलेकाँही केही विषयमा बुझाईमा समस्या पर्ने गरेको भन्दै उहाँले त्यस्ता सबै कुराहरुलाई छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।नगरप्रमुख अधिकारीले संस्था स्थापना देखि हाल सम्म संस्थाले जेष्ठ नागरिकहरुका लागि पु¥याएको योगदानको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । संस्थाकी अध्यक्ष कविता तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अर्जुनप्रसाद खनालले गर्नुभएको थियो ।












