सरकारले पाँच वर्ष अघि प्रोत्साहन स्वरुप उपलब्ध गराउने भनेको अनुदान रकम कपिलवस्तुका उखु किसानले अहिलेसम्म पाएनन्

प्रकाशित मिति:

नेपाल सरकारले पाँच वर्ष अघि उखु कृषकहरुलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भनेको अनुदान रकम कपिलवस्तुका उखु किसानहरुले हालसम्म पनि नपाउँदा निराश बनेका छन् । जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले समयमा सरकारलाई रिपोर्ट नबुझाउँदा हालसम्म पनि कपिलवस्तुका उखु किसान आशैआशमा निराश बनेका हुन् ।
अनुदान रकम पाउनका लागि किसानहरुले पटक पटक आन्दोलन, धर्ना दिँदै आएको भए पनि रकम नपाएका किसानहरुलाई सम्बन्धित निकायबाट सरकारलाई दिलाउन पहल गर्ने आश्वासनमा भने कुनै कमी छैन । आर्थिक वर्ष ०७१÷०७२ मा कपिलवस्तुका पश्चिमी भेगका किसानले सोही मिललाई दिएको उखुमा प्रति क्वीन्टल रु २५ का दरले सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिए । त्यतिमात्र होइन सुगर्स मिल बन्द भएको पनि एक वर्ष भयो तर मिलबाट पाउनुपर्ने भुक्तानी समेत नपाएपछि किसानहरु अझ मारमा परेको गुनासो गरेका छन् ।
नेपाल सरकारबाट किसानहरुले पाउनुपर्ने अनुदान रकम छिटोभन्दा छिटो उपलब्ध गराइयोस् भन्ने किसानहरुको मागलाई सरकारले हालसम्म बेवास्ता गर्दै आएको छ । अन्य जिल्लाका उखु किसानले नेपाल सरकारबाट उखुमा प्रतिक्वीन्टल रु.२५ अनुदान उहिल्यै पाइसकेपनि कपिलवस्तुका किसान भने हालसम्म पनि बन्चित रहेका छन् ।
कपिलवस्तुका किसानले पाउनुपर्ने सरकारी अनुदान रकम करीव अढाई करोड छ । किसानहरुले सम्पूर्ण प्रकृयाहरु पूरा गरेको भएपनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष चौधरीले बताए । पटक पटक सरकारको ध्यानाकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो छ । सुगर्स मिलले कागजपत्रमा ढिलाई गर्दा विभिन्न कारण देखाउँदै सो रकम हालसम्म नपाएको चौधरीले बताए ।
पटक पटक आन्दोलन गर्दा समेत आश्वासन मात्रै पाएका किसानहरुले फेरि आइतबार इलाका प्रशासन कार्यालय मार्फत सरकारकालाई ज्ञापन पत्र बझाएका छन् । पछिल्लो आन्दोलनमा अनशन बसेका किसानहरुलाई भाद्र १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जनप्रतिनिधिहरु लगायतले सरकारबाट रकम निकासा गराउने प्रतिबद्धतापछि स्थगन गरिएको थियो ।