बित्तिय संस्थाहरुमा कडाई गर्ने राष्ट्र बैंकको संकेत , गर्भनर भन्छन् “बैंकहरुले राष्ट्र बैंकको निर्देशन टेरेनन्”
काठमाडौं मंसिर ९। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरु माथि झनै कडाई गर्न आवश्यक रहेको बताएका छन् । उनले बैंकहरुले राष्ट्र बैंकले विभिन्न समयमा दिएका निर्देशन पालना नगरेको भन्दै त्यसलाई अझै कडाई गर्न आवश्यकता रहेको बताएका हुन् । नेपाल वित्तीय कर्मचारी संघले आईतबार राजधानीमा आयोजना गरेको बैंकिङ तथा वित्तीय क्षेत्रको विषयमा गरिएको सामाजिक बहसको क्रममा बोल्दै गभर्नर नेपालले उक्त कुरा बताएका हुन् । नेपालको केन्द्रीय बैंकहरु धेरै हदसम्म उदार रहको भन्दै बैंकहरुमाथि कडाई गर्नको लागि केही ऐन कानूनहरु बनाउने प्रकृया मै रहेको स्पष्ट पारे । उनले बैंकहरुको मनपरी रोक्न कै लागि एच आर शीर्षकमा बैंकहरुले पैसा छुट्याउनु पर्ने व्यवस्था गरिदिएको जानकारी दिए । उनले बैंकहरुले सो निर्देशनलाई पनि पूर्ण रुपमा कार्यन्वयन गरेको नभेटिएको भन्दै अझ राष्ट्र बैंक कठोर हुने चेतावनी समेत दिए।
नेपालले बैंकहरुलाई २०६२ सालमा २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको भएपनि ७२ सालसम्म पनि करिब एक दर्जन बैकहरुले दुई अर्ब पनि नपुर्याएको स्मरण गर्दै त्यसैको प्रतिफल राष्ट्र बैंकले मर्जरको प्रक्रियामा जानको लागि बैंकहरुलाई निर्देशन दिएको बताए । उनले नेपालको केन्द्रीय बैंक अन्तराष्ट्रिय स्तरमा हेर्ने हो भने पनि धेरै हदसम्म उदार रहेको भन्दै केन्द्रीय बैंकले अझै धेरै नियम र नीतिहरु ल्याउन बाँकी रहेको भन्दै उनले आफूहरु बैंक तथा वित्तीय संस्थाहरु राम्ररी अघि बढोस् भन्ने पक्षमा रहेको बताए ।
गवर्नर नेपालले बैंकहरुले ट्रेडिङको नाममा पनि धेरै मनपरी गरिरहेको भन्दै यसमा पनि राष्ट्र बैंकले कडाईका साथ प्रस्तुत हुने तयारीमा रहेको जानकारी दिए । बैंकहरुले कर्मचारीलाई दिनुपर्ने भनिएको ट्रेडिङ पनि नगराउने र गराएमा पनि आफ्नै ट्रेडिङ इन्सिच्यूट स्थापना गराएर त्यसमा धेरै पैसाको विल बनाउने गरेको भेटिएको भन्दै उनले यसमा पनि कडाई गर्ने तयारी भईरहेको प्रतिक्रिया दिए ।












