मेलामा दर्शक पहाडी खाधन्न र फलफूलमा रमाउंदै

प्रकाशित मिति:

रुपन्देहीको मणिग्राममा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा पहाडी खाद्यान्न तथा फलफुलमा दर्शकको भीड बढेको छ । दुधको परिकार कुराउनी, कोदोको पीठोबाट बनाईएको सेलरोटी, गाभाको पकौंडा र गुल्मीको सुन्तलाले महोत्सव अवलोकन गर्न आउने दर्शकको मन जित्न सफल भएका छन् । तिलोत्तमा नगर कृर्षिमा आत्मनिर्भर बनौ भन्ने नाराका साथ महोत्सव भित्रको कृर्षी तथा हर्बल प्रदर्शनी स्थलको स्टल नं २८० र २८१ को मगर दिदीबहिनीले बनाएको कोदोको सेलरोटी सबैभन्दा बढी ग्राहकको रोजाईमा पर्ने गरेका छन् । यसैगरी २८८ नम्बरको गुल्मेली सुन्ताला, स्टल नम्बर ३०६ र ३०७ को कुराउनी र खीर ले धेरैलाई तानेको देखिन्छ । स्टल नम्बर २८६ को टिमूरको छोपले पनि महोत्सव अवलोकन गर्नेलाई एक पटक चाख्नैपर्नेगरी माहौल सृजना गरेको छ । कृर्षी तथा हर्बल व्यवस्थापन समितीका संयोजक कृष्ण प्रसाद भुसालका अनुसार उक्त महोत्सव पहाड र तराईका स्थानीय उत्पादनहरुको संगम स्थल बनेको दाबी गरे । उनले भने ‘महोत्सवमा कृर्षी र हर्बलका उत्पादनलाई दर्शकले रोजाई बनाएका छन् ।’ पहाडको कोदोको पीठो, फापरको पीठो, अचार देखी मोही सम्म पाईएको उक्त महोत्सवमा सखिया होमस्टे मार्फत घोंगी, गंगटाको परिकारले पनि उत्तिकै बजार लिएको छ ।सोमबार महोत्सवमा संचालित कुस्ती प्रतियोगिताले पनि दर्शकलाई आकर्षण गरेको थियो । कुस्ती भोली बुधबार सम्म संचालन हुने आयोजकले जनाएको छ । यता महोत्सवमा संचालित ५ ए साइड फुटवल प्रतियोगितामा आज मंगलबार देखि क्वाटर फाइनलका खेलहरु हुने खेल संयोजक सितल ज्ञवालीले बताए । सोमबार सम्म ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।
उपभोक्ता सचेतना सम्बन्धी गोष्ठी
यसैबीच सोमबार महोत्सव सचिवालयमा उपभोक्ता सचेतना सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल सरकार बाणिज्य मन्त्रालय उपभोक्ता हित संरक्षण विभागका निर्देशक भगवानलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रदेश सरकारका उद्योग वाणिज्य मन्त्री लिला गिरीले व्यपारीहरुले उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यापार गर्नुपर्ने बताए ।सो अवसरमा तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले उत्पादक, उपभोक्ता र विक्रेता सबै सचेत भएर अगाडी बढेमा कुनै समस्या नहुने बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नीजी क्षेत्रले गलतलाइ गलत र राम्रोलाई राम्रो भनेर अगाडी बढ्ने बताए । उनले नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवमा पनि स्टल राखेर सचेतना जगाउन सके अझ प्रभावकारी हुने बताए ।कार्यक्रममा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले उपभोक्ता भन्दापनि उत्पादक र वितरक सचेत भए समस्या नहुने बताए । कार्यक्रममा उपभोक्ता हित संरक्षण ऐन २०५४ विस्तापीत भएको र २०७५ को नियमावली र ऐन नबनेको अवस्थामा बजार अनुगमनका समस्या भईरहेको अधिकार कर्मिले बताएका थिए । कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद पाण्डे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष नर्बु लामा, बाणिज्य कार्यलयका प्रमुख बेदप्रकाश उपाध्यय, महोत्सव मुल आयोजक समिती संयोजक सत्यब्रत ज्ञवाली, निर्देशन समिती संयोजक जेपी कडेंल, खिमबहादुर खत्री, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे लगायतले बोल्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ जनतामूखी हुनुपर्ने र त्यसलाई कार्यन्वयन तहमा पुराउन सबैको भूमिका जरुरी रहेको बताए । उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष नर्बु लामा, वाणिज्य मन्त्रालयका अधिकृतद्वय हरि प्रसाद दाहल र रमेश प्रसाद रिजालले कार्यपत्र प्रस्तुत गरेको महोत्सव सचिवालय संयोजक अनिल ज्ञवालीले जानकारी दिए ।