सेयर बजारमा सर्वसाधारणको हित हुने गरी काम गरीने : अर्थमन्त्री

प्रकाशित मिति:

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समग्र अवस्था अवगत गराउन श्वेतपत्र जारी गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्रीले श्वेतपत्र जारी गर्ने बताएका हुन् । यसअघि पनि सरकार परिवर्तन हुँदा कतिपय अर्थमन्त्रीले श्वेतपत्र जारी गर्ने गरेका थिए । पूर्ववर्ती सरकारले ल्याएको बजेट परिवर्तन गर्ने वा यसलाई निरन्तरता दिने भन्नेमा चाहिँ सरकारले निर्कोल गरिसकेको छैन ।

सरकारले विश्वासको मत लिएपछि मात्र यसबारेमा निर्णय गर्ने अनौपचारिक जानकारी दिइएको छ । यस्तै, पुँजी बजारका बारेमा थप अध्ययन गरेर बोल्ने उनको भनाई छ । सेयर बजारमा सर्वसाधारणको हित हुने गरी काम गर्ने समेत उनले बताए । पुँजी बजारका समस्याहरु समाधान गर्न आफू तयार रहेको तर यसबारेमा धेरै जानकारी नभएकाले थप अध्ययन गरेर मात्र बोल्ने उनको भनाई छ ।