उद्योग संघको टोली काठमाडौं ,उद्योगका समस्या समाधान र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान अन्यत्र नसार्न आग्रह
बुटवल, मंसिर २३ \रुपन्देही उद्योग संघको एक प्रतिनिधि मण्डल यस क्षेत्रमा रहेका उद्योगहरु संचालन क्रममा देखिएका नीतिगत समस्याहरुकासाथै बुटवलमा रहेको औद्योगिक विकास प्रतिष्ठान अन्यत्र सार्ने निर्णयमा पुनरविचार गर्न आग्रह गर्न राजधानी काठमाडौं गएको छ । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले संघिय उद्योग मन्त्री, अर्थमन्त्री लगायत राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग भेटघाट गरी आफ्ना समस्याहरुका बारेमा जानकारी गराउने बताइएको छ । प्रतिनिधि मण्डलमा संघका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मी, कोषाध्यक्ष शिवकुमार पाठक, प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहनु भएको छ ।
यस क्षेत्रमा रहेका कवाड सामान पुनप्रयोग गरी उन्पादन गर्ने प्लाष्टिक डोरी उद्योग, तेल उद्योग लगायतको कच्चा पदार्थ भारत निकासी हुँदा अभाव भएको तथा अन्य कतिपय समस्याहरु झेल्नु परेको विषयमा अवगत गराउँदै समस्या समाधानका लागि अनुरोध गरिने संघका अध्यक्ष अधिकारीले बताउनु भयो । यसैगरी बुटवलमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान मन्त्रीपरिषदको निर्णयबाट विराटनगर सार्न लागिएकोमा त्यस निर्णयमा पुनरविचार गरी कार्यालय बुटवलमै कायम गरिनु पर्ने माग प्रतिनिधि मण्डलले मन्त्री समक्ष राख्ने जनाइएको छ ।












