गरिब परिवारलाई १० हजार नगद हस्तान्तरणको बाटो खुल्यो

प्रकाशित मिति:

कोभिड–१९ महामारीबाट प्रभावित ५ लाख अतिविपन्न परिवारलाई १० हजार प्रति परिवार नगद हस्तान्तरण गर्ने कार्यविधि तयार भएको तथा मन्त्रिपरिषद्बाट पनि स्वीकृत भएकोले नगद हस्तान्तरणको बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले दशैं अगाडिनै अतिविपन्न परिवारलाई राहत वितरण प्रयास गरेता पनि मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत नभएका कारण उक्त कार्यक्रम रोकिएको थियो ।

कसले पाउने-यस महामारीमा कुनै पनि आयआर्जन गर्ने अवसर गुमाएका तथा आर्थिक रुपमा अतिविपन्न परिवारले १० हजार प्रतिपरिवारका दरले उक्त रकम प्राप्त गर्न सक्ने छन् ।कसले नपाउने-सुचिमा रहेको परिवारका कुनै एक सदस्य निवेदन दिने समयमा स्थायी, अस्थायी, करार, सरकारी, निजी, वैदेशि रोजगारीद्वारा आयआर्जन गरिरहेको परिवार
नेपाल सरकार वा विदेशी सरकारको निवृत्तिभरण पाउने परिवार
सरकारले दिने अपांग, दलित, एकल महिला, जेष्ठ नागरिक भत्ता पाउने परिवार
संघ, प्रदेश वा स्थानिय सरकारको कुनै पनि कार्यक्रमबाट राहतको रुपमा नगद पाईसकेका
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लाभ लिएकाहरु
संचित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने परिवार

कसरी पाउने-सरकारले निवेदन दिन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेको १५ दिन भित्र अतिविपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्ने छ । निवेदन संगै निवेदकले नागरिकताको प्रतिलिपि तथा बैंक खाता पनि अनिवार्य बुझाउनु पर्ने छ ।निवेदन बुझाउने अन्तिम मितीले सात दिन भित्र वडाअध्यक्षले निवेदनहरुको परीक्षण गर्ने र सो निवेदनहरु स्थानीय तहमा सिफारिस गर्नेछ ।कुनै निवेदन अयोग्य लागेमा वडाअध्यक्षले कारण सहित सो निवेदन अस्वीकृत गर्न सक्नेछ । यस कार्यक्रम अन्तरगत लाभ लिएका परिवारका सदस्यले सरकारलाई आवश्यक परेको बेला न्यूनतम दैनिक ज्यालादरका आधारमा हुन आउने न्यूनतम कार्यदिन बराबर कुनै सार्वजनिक विकास निर्माणकार्यमा स्वर्यसेवकको रुपमा काम गुर्नुपर्ने छ ।