१ पुस, काठमाडौं । बहुदल प्राप्तिका लागि ०४६ सालमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला गगन थापा १४ वर्षका थिए । कक्षा नौ मा पढ्दै गर्दा उनी त्यस आन्दोलनमा बाल कांग्रेसका रुपमा सहभागी भए ।०४६ को चैत २६ गते बहुदल आयो, त्यही बहुदलले गगन थापाहरुका निमित्त राजनीतिक यात्राको बाटो तय गरिदियो । त्यसयता कहिले विद्यार्थी, कहिले संसद र कहिले सरकारको मोर्चामा खरो उत्रिएका थापा बिहीबार कांग्रेस महामन्त्रीमा निर्वाचित भएसँगै परीक्षाको अर्को चरणमा प्रवेश गरेका छन् । यो परीक्षामा उनले यसअघि आफैंले सोधेका अनगिन्ती प्रश्नहरुको जवाफ दिनुपर्ने छ ।
पहिलो घुम्ती स् राजद्रोहको मुद्दा
२०५७ सालमा नेपाल विद्यार्थी संघको उपसभापति चुनिएका गगन थापा ०५९ मा महामन्त्री भए । उनी नेविसंघमा महामन्त्री हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिए । त्यसबेला राजाको उक्त कदमको विरोध गर्न राजनीतिक दलहरु भन्दा पहिले विद्यार्थी संगठनहरु सडकमा ओर्लिए र त्यो आन्दोलनको नेतृत्वकर्तामध्येका एक थिए यिनै थापा ।नेपाली कांग्रेसले गणतन्त्र र संविधानसभाका विषयमा निर्णय नगर्दै त्यो मुद्धालाई स्थापित गराउन थापाले महत्वपूर्ण भूमिका खेले । पार्टीभन्दा अघि बढेर गणतन्त्रको आन्दोलनको अग्रमोर्चामा रहँदा थापाविरुद्ध पटक–पटक राजद्रोहको मुद्दा लाग्यो ।त्यसबेला तत्कालिन सत्ताले अत्यधिक दुख दिँदा पनि परिवर्तनका लागि उनले लिएको अडानले जितेपछि उनलाई राजनीतिमा अघि बढ्न सजिलो भयो ।
संविधान निर्माणमा भूमिका, संसदमा प्रश्न
पहिलो संविधानसभा चुनावमा गगन थापा समानुपतिक सभासद भएर संविधानसभामा प्रवेश गरे । संविधानसभा अन्तर्गत मौलिक हक समितिको सदस्यका रुपमा उनले संविधानमा समावेश गर्ने मौलिक अधिकारको मस्यौदा तयार पार्नमा महत्वपूर्ण भूमिका खेले ।पहिलो कार्यकालमा संविधानसभामा कांग्रेसको उपस्थिति कमजोर थियो, तर थापाको अब्बल । हुन त उनी मौलिक अधिकार समितिका सदस्य थिए तर राज्य पुनर्संरचना समितिमा पनि निवेदन हालेर छलफल गर्न पुग्थे ।संघीयताको ‘मोडालिटी’का बारेमा हुने छलफलहरुमा सहभागी हुन्थे । प्रदेशहरुको नाम के हुने भन्ने बहस हुने तर तिनीहरुका अधिकारबारे कुरै नहुने परिपाटी जस्तै बसेका बेला थापाले राज्यका अधिकारहरुका बारेमा कुरा उठाए, नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थामाथि फरक मत राखे ।अहिलेको संविधानको नागरिकतासम्बन्धी व्यवस्था महिलाप्रति विभेदकारी रहेको भन्दै फरक मत राख्ने गगन थापा संभवतः एकमात्रै पुरुष सांसद हुन् । दोस्रो संविधानसभामा उनी संसदको कृषि तथा जलस्रोत समितिका सभापति थिए । त्यसबेला पनि समितिलाई उनले सक्रिय बनाए ।संसदीय समितिहरुको संयुक्त बैठक बस्ने अभ्यासलाई गगन थापाले पुनर्जागृत गरे ।संविधानसभा र संसदको तीन कार्यकालमा एउटा सांसदले जे गर्न सक्छ त्यसमा थापा खरो उत्रिए । सांसद र सभासद्को रुपमा थापाले खेलेको भूमिकालाई उनको क्षेत्रका मतदाताले अनुमोदन गरे, त्यसैले उनी आफ्नो निर्वाचन क्षेत्रमा बलिया देखिन्छन् ।
सरकारमा नौ महिना, आश लाग्दा योजना
सडक आन्दोलन गर्दा र संसदबाट प्रश्न उठाउँदा थापालाई जति सहज थियो, सरकारमा गएपछि उनी काम गरेरै देखाउनुपर्ने अवस्थामा पुगे । २०७३ मा स्वास्थ्यमन्त्री नियुक्त भएपछिको नौ महिना स्वास्थ्य क्षेत्रको कायापलट नै हुनेगरी त उनले काम गर्न सकेनन्, तर सुधारका थुप्रै कदम चाले ।उनले संघीय नेपालको स्वास्थ्य संरचनाको खाका नै तयार पारेका थिए । गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थापाको भूमिका धेरै उपलब्धीपूर्ण नभए पनि आशा जगाउने खालको थियो ।
अब प्रश्नभन्दा धेरै जवाफ दिनुपर्छ
२०६७ सालमा भएको पार्टीको १२ औं महाधिवेशनमा गगन थापा अत्यधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । ‘तर पछिल्लो बेन्चमा बसेर पार्टीमा परिवर्तन ल्याउन सकिदो रैन’छ,’ १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले भनेका थिए । तर, उनी पराजित भए ।पराजित भए पनि पार्टी नेतृत्वले गरेका गलत निर्णयका प्रति प्रश्न उठाए, सरकारका कामकारबाहीबारे सदनमा खबरदारी गरे । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सबैभन्दा पहिले सडकमा आएर उक्त कदमको विरोध गर्ने थापा नै थिए । जहाँ जस्तो मन्च भेटे थापाले केबल प्रश्न गरे, असहमति राखे ।नरहरि आचार्यसहितका कांग्रेस नेताहरुले थालेको पार्टी सुधारको अभियानमा ०५८र०५९ बाटै संलग्न रहेका थापा अहिले त्यो अभियान पूरा गर्ने ठाउँमा पुगेका छन् ।थापा पार्टीको महामन्त्री निर्वाचित हुँदै गर्दा सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्, जसलाई सबैभन्दा धेरै आलोचना यिनै थापाले गरेका छन् । पार्टीको मूल नेतृत्व परिवर्तन थापासहितको समूहको मूल एजेण्डा हो, शेरबहादुर देउवाबाट कांग्रेस चल्न सक्दैन भन्ने थापाको पनि ठम्याइ हो ।महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले पार्टी रुपान्तरण र पुनर्जागरणका लागि भन्दै ६० पृष्ठको अवधारणापत्र अघि सारे । आफ्नो अवधारणापत्रमा भनेझै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउन अब भने उनी अग्नि परीक्षामा होम्मिइसकेका छन् ।
थापाले अवधारणापत्रमा भनेका छन्, ‘२००६ सालको जस्तो क्रान्तिचेत, १५ सालको जस्तो प्रगतिशिल र समाबेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, ०६२र०६३ जस्तो सर्वस्वीकार्य नेतृत्व भएको हाम्रो गौरवशाली विगतबाट प्रेरणा लिंदै आजको समयको चेत बुझेर नवीन पुस्ताले विश्वास र भरोसा गर्ने स्पष्ट ध्येय भएको गतिशील र आधुनिक संगठन बनाउनु छ ।’यो अवधारणामा कांग्रेसजनले गरेको विश्वास र मुलुकले गरेको अपेक्षा पनि जोडिएको छ । तर पार्टीको उही संरचना, त्यही विधान र उस्तै परम्पराको बीचबाट आफ्ना प्रश्नहरुको जवाफ थापाले खोज्नुपर्छ, आजसम्म आफ्नै प्रश्नहरुले सिर्जना गरेको कठघराभित्र उभिनुपर्छ ।











