प्रदेश १ मा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम फेरि सुरु

प्रकाशित मिति:

प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित भएसँगै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ खर्च गर्न पाउने बाटो खुल्नेछ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम रद्द गरेको थियो । तर पाँच दलीय गठबन्धन सरकारले पुनः उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।प्रदेश सांसदको दबाबमा प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले स्थानीय तहमा सिधै निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिने निर्णय भएको बताए । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा मन्त्रालयबाट खर्च हुने व्यवस्था थियो ।