अस्ताइन् ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टी

प्रकाशित मिति:

लसएञ्जल्स-आजतक–हलिउडकी लोकप्रिय अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । उनले शुक्रबार अन्तिम श्वास फेरेकी हुन् । ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शोमा काम गरेकी उनले अमेरिकी जनतालाई सात दशकसम्म हसाएकी थिइन् । उनको घरमा नै सुतिरहेको अवस्थामा निधन भएको हो । उनी सयौं जन्मदिन मनाउने तयारीमा थिइन् ।

बेट्टीले हलिउडमा लामो करियरको स्वाद लिइन् । उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो । उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् । उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो । सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन् । उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनको जन्म सन् १९२२ जनवरी १७ मा भएको थियो । उनी परिवारका साथ क्यालिफोर्नियामा आएकी थिइन् । जीवनमा तीन पटक विवाह गरेकी उनले कैयौं एमी अवार्ड पनि जितेकी थिइन् । अभिनेता एलन लुडेन उनका अन्तिम पति थिए ।@khabarhub