पांचौं बर्दघाट ब्यापार मेला आजदेखि शुरु हुंदै ,मेला अवधिभर झण्डै सय जना चर्चित कलाकार आउने

प्रकाशित मिति:

बुटवल, –पश्चिम नवलपरासीको बर्दघाटमा आज शुक्रबारदेखि पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला शुरु हुंदैछ । ‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा मेला हुन लागेको हो । मेलाको लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल लगायतले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

मेला उद्घाटन अघि बाजागाजासहितको झांकी ¥यालीले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक संघका कार्यसमिति सदस्य एवं सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताए । मेलामा स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहने छन् । कृषिलाई प्राथमिकता दिइएको मेलामा कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । यस्तै संघमा आवद्ध उद्योगी व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट गरिएको छ ।

व्यापार मेलामा जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षणसमेत गर्ने उद्देश्यले मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू पनि रहने कृषि, पर्यटन तथा संस्कृति व्यवस्थापन उपसमिति संयोजक गंगाप्रसाद पाठकले बताउनुभयो । मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनुभयो । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।