सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका -खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वाराउद्योगमा छापा
भैरहवा, जेठ २६ । गोयनका गु्रपको सनहाई ब्राण्डको उत्पादनमा अखाद्यवस्तु भएको आशंकामा अनुगमन भएको छ । ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित पडसरीमा रहेको उद्योगमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रुपन्देहीले आज अनुगमन गरेको हो । अखाद्य वस्तु रहेको भन्ने उजुरी परे पछि चेकजाँच तथा नमुना संकलनको लागि उद्योगको निरिक्षण गरेको कार्यालयले जनाएको छ । सनहाई ब्राण्डको आटा, मैदा र सुजीमा अखाद्यवस्तु रहेको भन्ने जनगुनासो सहित उजुरी आए पश्चात खाद्य निरिक्षक पदमराज भूसालको नेतृत्वमा उद्योगमा पुगेर नमुना संकल गरिएको छ ।
गोयनका गु्रपका सञ्चालक अरुण गोयनका हुन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका उपाध्यक्ष समेत रहेका छन् । पछिल्लो समय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले बजार तथा खाद्य उद्योगको अनुगमनलाई तिब्रता पारेको छ । उद्योगले खाद्यवस्तुमा मिसावट गरेर विक्रि वितरण गर्ने गरेको गुनासो आएपछि गुणस्तर र मापदण्ड अनुसारको भए नभएको चेक जाँच गर्दै आएको निरिक्षक भूसालले बताए । पछिल्लो समय आटा र मैदामा आद्यवस्तु फेला परेका समाचारहरु आइरहेका छन् ।












