पिण्डेश्वर बाबाधाममा भक्तजनको भिड

प्रकाशित मिति:

धरान, साउन – धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ। दुई वर्ष कोरोनाका कारण प्रत्येक साउन महिनामा लाग्ने यहाँको बोलबम मेला लाग्न सकेको थिएन। सप्तकोशी नदीबाट पानी ल्याएर पिण्डेश्वर बाबाधाममा जल चढाउने भक्तजनको भीड लागेको छ। मन्दिरका पुजारी विनोद पोखरेलका अनुसार आइतबार राति ८ बजेदेखि नै भक्तजन लाइन लागेका थिए। आज साँझसम्म नै भक्तजन जल चढाउन आउने गर्दछन्। विजयपुरको पाखा र धरानका मुख्य चोकमा यति बेला पहेंलो बस्त्र लगाउने भक्तजनको भीड बढेको छ। साउन महिनामा धरान बजार गेरुबस्त्रधारीले पहेलपुर हुने गर्दछ।

सुनसरीको बराहक्षेत्रस्थित कोकाह नदीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाउने गरिन्छ। विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहिता युवतीले राम्रो पति पाउँ भन्दै शिवलिङ्गमा जल चढाउने गर्दछन्। सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।टाढाटाढाबाट आएका भक्तजन हिजै कोकाहा नदीमा नुहाएर त्यहाँबाट जल बेलुका लिएर पिण्डेश्वर बाबाधाम पुगेका थिए। रातभरि जाग्राम बसी आज बिहान जल चढाएर घर फर्कछन्। मनोकांक्षा पूरा होस् भनी कतिपय भक्तजन खाली खुट्टामा आउने गर्दछन्। कतिपय त सुतेर धर्तीलाई साष्टाङ्गदण्डवत् गर्दै बाबाधामसम्म पुग्ने गर्छन्।

वडा कार्यालयले यसपटक बोलबमको जिम्मा लिएकाले पूजा गरेर फर्किनेहरुका लागि अलग्गै बाटो बनाएको छ। मन्दिर अगाडि माग्न बस्नेहरुलाई पनि मन्दिरको पछाडितिर व्यवस्थापन गरिएको छ। भक्तजनको सहजताका लागि प्रहरी परिचालन, शौचालय र ट्राफिक व्यवस्थापनलाई ध्यान पुर्‍याइएकोे वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए।आज साउनको चौथो सोमबार भएकाले अन्य सोमबार भन्दा बढी भक्तजन आएको पिण्डेशवर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालेले जानकारी दिए। यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ। साउन ३० गतेसम्म यहाँ भक्तजनको भीड लाग्ने समितिले जनाएको छ।भारत बिहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो। अहिले देशका मुख्य शिवालयमा बोलबम मेला लाग्ने गरिए पनि सर्वप्रथम पिण्डेश्वरबाट बोलबम मेलाको सुरुआत गरिएको थियो। साउन शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरुमा शिवभक्तको घुइँचो लाग्ने गर्दछ।

मध्यकालीन कलाकैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबाधाम ऐतिहासिक र धार्मिक विशेषता बोकेको क्षेत्र पनि हो। यहाँ प्रत्येक वर्ष करिब आठ लाख भक्तजन श्रद्धापूर्वक पूजा आराधना गर्न आउने गर्दछन्। साउन महिनामा मौत्र पाँच/छ लाख भक्तजन जल चढाउन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पछिल्लो समय भारतको काशी र काडमाडौँको पशुपति मन्दिरमा आरती गर्न जाने भक्तजन पिण्डेश्वर मन्दिरमा आउने गरेका छन्।श्रावण महिनामा पिण्डेश्वरको अग्रभागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न थालिएपछि भक्तजनको भीड बढेको हो। बटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवानको गुणगान गाउँदै आरती गर्ने गरिन्छ।