काठमाडौं – धौलागिरी लघुवित्तको आइपीओमा १ अर्ब ५३ करोड १ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार साउन २६ गते साँझ ५:०२ बजेसम्ममा १३ लाख ६१ हजार ३५३ जनाले १ करोड ५३ लाख १ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् ।
धौलागिरीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०।५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।












