४ बुँदे सहमतिपछि पनि बन्चरेडाँडाको अवरोध हटेन, स्थानीयले रोके फोहोरको गाडी
काठमाडौं, भदौ २ – बन्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध भएको छ । तीन जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ४ बुँदे सहमति भएको चौबिस घन्टा नपुग्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका रोक लगाएका हुन् ।
बुधबार बिहान काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरुलाई स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्ने भनेर मौखिक आश्वासन दिएको तर कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो।












