उपत्यकामा अझै २५ हजार सिसी क्यामरा थप्नुपर्छ – प्रहरी महानिरीक्षक

प्रकाशित मिति:

काठमाडौं, भदौ ८ – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध नियन्त्रण र शान्ति सुरक्षाका हकमा सीमित स्रोत साधनका बीच प्रहरीले उत्कृष्ट काम गरिरहेको जिकिर गरेका छन्।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो जिकिर गरेका हुन्।

अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि क्षमता विकास र प्रविधिको प्रयोग बढाउनुपर्ने तथा उपत्यकामा पाँच हजार सिसी क्यामरा रहेकाले अझै २५ हजार बनाउनुपर्ने अवस्था रहेको उनले बताए।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महनिरीक्षक रवीन्द्रबहादुर धानुकले अपराध नियन्त्रणको चुनौतीपूर्ण अवस्थामा रहेको बताए। उनले विद्यमान स्रोतसाधनको विस्तार तालिम र प्रविधिगत क्षमताको विकास कानुनी जटिलताको समाधान गरी स्पष्ट नीतिगत आधार निर्माणका लागि जिम्मेवार निकायको ठोस लगानी र प्रतिबद्धता आवश्यक छ भने।