नेपाल भित्रने पर्यटकहरुको सुरक्षामा कुनै पनि कसुर नराखि सुरक्षाको प्रत्याभूति गराईने
भैरहवा, भदौ १३ । नेपाल भित्रने पर्यटकहरुको सुरक्षामा कुनै पनि कसुर नराखि सुरक्षाको प्रत्याभूति गराउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आज रुपन्देहीको बेलहीयामा पर्यटक सुरक्षा तथा प्रवद्र्धनमा व्यवसायी एवं स्थानीय नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बेलहीया नाका बाट भित्रने तथा अन्य कुनै पनि देशका नागरिक पर्यटकको रुपमा नेपाल आउँदा सुरक्षित रहने बताएका हुन् ।
नेपाल भ्रमणमा रहेका पर्यटकहरुको सेवा सुरक्षा एवं आवश्यक सूचनाहरु उपलब्ध गराउनु पर्यटकहरुको बसाई सुखद् बनाउन उपत्यकामा १० र उपत्यका बाहिर १८ गरी २८ ओटा पर्यटन प्रहरी युनिट खडा गरी काम भइरहेको पर्यटन प्रहरी प्रमुख तर्कराज पाण्डेले बताए ।पर्यटन व्यवसायीका मर्का बुझेकोले सहजिकरण गरेर अगाडि बढ्ने पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयका सचिव महेश चन्द्र न्यौपानेले बताए । उनले भने “पर्यटन व्यवसायी र होटल व्यवसायीले सुधार गर्नु पर्ने कुराहरु सुधार गर्दै लगे मन्त्रालय सहजिकरण गर्न तयार छ । पर्यटन विकासमा मन्त्रालय सकरात्मक रहेकोले रितपुग्ने गरी कानून अनुसार व्यवसाय गर्नेहरुलाई सहयोग मिल्छ ।”
सरकारी निकायले सहजिकरण गर्ने भएकाले व्यवसायीले पर्यटकलाई सहजहुने गरी काम गरेर अगाडि बढ्नु पर्ने रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । पर्यटन क्षेत्र रहेकोले रात्रीकालिन बजार खुला गर्ने विषयमा छलफल भएकोले सहज रुपमा सुरक्षाको व्यवस्था मिलाएर खोल्न सकिने बताउँदै पर्यटक पाहुना हुन् उनीहरुको सेवा गर्नु भन्ने भावना व्यवसायीमा हुनु पर्ने उनको भनाई छ । उनले घुमाउरो पारामा पर्यटन व्यवसायी तथा होटल व्यवसायीले पर्यटकलाई चर्को शुल्क लिने गरेको बताए । पर्यटन प्रहरी इकाइ कार्यालय भृकुटीमण्डप काठमाडौंले आयोजना गरेको कार्यक्रममा रुपन्देहीका सुरक्षाकमी, पर्यटन व्यवसायी, होटल व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो ।












