काठमाडौँ / चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमबार गएको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका हुन् ।सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६।६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
सिचुवानको शिमियान काउन्टीमा १४ जनाको मृत्यु भएको छ भने नजिकैको लुडिङ काउन्टीमा सात जनाको मृत्यु भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।प्रान्तीय राजधानी चेङ्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।
चेङ्दु सहरका बासिन्दा चेनले भने, “मैले यसलाई धेरै शक्तिशाली महसुस गरेँ । भुइँतलामा रहेका मेरा केही छिमेकीले भूकम्पको धक्का निकै धेरै महसुस गरेका बताए ।”भूकम्पका कारण गएको पहिरोका कारण पनि ठूलो क्षति पुगेको सीसीटीभीले जनाएको छ ।सो क्षेत्रमा भूकम्पका कारण बाटो अवरुद्ध भएको छ मानिसहरू बसोबास गर्ने १०० भन्दा बढी क्षेत्रहरूमा दूरसञ्चारका लाइन काटिएको छ । धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेशनहरू पनि अवरूद्ध भएका छन् ।सीसीटीभीले प्रसारण गरेको फुटेजमा गार्जेमा क्षतिग्रस्त भवन र ढलेका संरचनाका भग्नाबशेष सडक देखिन्छ ।












